जनकपुरधाम, १७ साउन । धनुषा प्रहरीले करिब १४ लाख रुपैयाँ बराबरका भन्सार छलीका सामानसहित एक पिकअप गाडी नियन्त्रणमा लिँदै एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार विशेष सूचनाका आधारमा गरिएको कारबाहीका क्रममा अन्दाजी रु. १३ लाख ९४ हजार ८ सय बराबरका विभिन्न किसिमका भन्सार छलीका सामान बरामद गरिएको हो ।

उक्त सामान ओसारपसारमा प्रयोग गरिएको पिकअप गाडीसहित एक जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले बरामद गरिएको सामान तथा सवारीसाधन आवश्यक कानुनी प्रक्रिया पूरा गरी सम्बन्धित भन्सार कार्यालयमा बुझाउने तयारी गरेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिमाथि भन्सार ऐनअन्तर्गत थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रहरीले भन्सार छली, अवैध ओसारपसार तथा राजस्व चुहावट नियन्त्रणका लागि जिल्लाभर निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको समेत जनाएको छ ।