जनकपुरधाम, १७ साउन । जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय धनुषाले आइतबार सूचना जारी गर्दै आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएपछि तथा जिल्लाको सुरक्षा अवस्था क्रमशः सामान्य बन्दै गएको निष्कर्षका आधारमा निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको हो ।

प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(३क) बमोजिम जारी गरिएको निषेधाज्ञा २०८३ साउन १८ गते सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय गरेको हो ।

गत साउन १६ गते बिहान १० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा सम्भावित अप्रिय घटना रोक्न निषेधाज्ञा लागू गरिएको थियो ।

पछिल्लो समय आन्दोलनरत पक्ष र सरकारबीच भएको सहमतिपछि आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने बजार, यातायात र सर्वसाधारणको दैनिक गतिविधि पनि क्रमशः सामान्य अवस्थामा फर्किन थालेका छन् ।

प्रशासनले निषेधाज्ञा हटाइए पनि सामाजिक सद्भाव, शान्ति र सार्वजनिक सुरक्षालाई कायम राख्न सबै पक्षलाई संयमता अपनाउन तथा कानुनको पालना गर्न आग्रह गरेको छ ।