मेयर साहद्वारा घाइते र पीडितसँग भेट, राहत र निष्पक्ष छानबिनको माग
जनकपुरधाम, १७ साउन । जनकपुरधाममा आन्दोलनका क्रममा घाइते भएका बालक तथा लुटपाट र आगजनीबाट प्रभावित परिवारसँग जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले स्थलगत रूपमा भेट गरी राहत, क्षतिपूर्ति र निष्पक्ष छानबिनको माग गरेका छन् ।
मेयर साहले वडा नं. ८ निवासी कुवेर झाका छोरा आदित्य झालाई भेटेका हुन् ।
परिवारका अनुसार आदित्य बिहीबार आफ्नै घरको बार्दलीमा परिवारसँग बसिरहेका बेला आन्दोलन नियन्त्रणका क्रममा प्रहरीले प्रहार गरेको आँसु ग्यासको सेल सिधै उनको काखमा लागेर घाइते भएका थिए । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।
घाइते बालकको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मेयर साहले उपचारमा आवश्यक सहयोगका लागि उपमहानगरपालिका सधैं साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।
साथै घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग पहल गर्ने बताए ।
यसैबीच, आन्दोलनका क्रममा जनकपुरधाम–६ स्थित माछा बजार क्षेत्रमा भएका लुटपाट तथा आगजनीबाट प्रभावित परिवार र व्यवसायीसँग पनि मेयर साहले भेट गरे ।
उक्त घटनामा बच्चा राइन, आलम राइन तथा मासु व्यवसायी हकिमसहित अन्य व्यवसायीका पसल र घरमा तोडफोड, लुटपाट र आगजनी भएको बताइएको छ ।
पीडितसँगको भेटमा मेयर साहले घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण जनकपुरधामवासी पीडित परिवारसँग एकताबद्ध रहेको बताए ।
उनले क्षतिको उचित मूल्याङ्कन गरी राहत तथा क्षतिपूर्तिका लागि सम्बन्धित निकायसँग आवश्यक समन्वय र पहल गरिने प्रतिबद्धता पनि व्यक्त गरे ।
यता, घाइते बालकका परिवारले आन्दोलन नियन्त्रणका क्रममा प्रयोग गरिएको आँसु ग्यासको सेल सन् २०१६ मै म्याद सकिएको (एक्सपाइर) रहेको दाबी गरेका छन् ।
उनीहरूले म्याद गुज्रिएको सुरक्षा सामग्री प्रयोग गरिएको विषयमा समेत छानबिन हुनुपर्ने माग गरेका छन् ।









