जनकपुरधाम, ०९ साउन । तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलले खेतीपातीको अत्यन्त संवेदनशील समयमा देशभर देखिएको रासायनिक मलको अभावप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सरकारलाई तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

उनले युरिया, डीएपी र पोटासजस्ता अत्यावश्यक मलको सहज उपलब्धता सुनिश्चित गर्न तथा किसानले भोगिरहेका समस्याको शीघ्र समाधान गर्न सरकारसँग माग गरेका हुन् ।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै मण्डलले धानबालीको मुख्य सिजनमा किसानले मल नपाउँदा कृषि उत्पादन नै प्रभावित हुने अवस्था सिर्जना भएको उल्लेख गरेका छन् ।

उनले समयमै मल उपलब्ध गराउन नसक्नु सरकारको व्यवस्थापन क्षमतामाथि प्रश्न उठ्ने विषय भएको समेत बताएका छन् ।

उनले सरकारलाई किसानका वास्तविक समस्यालाई प्राथमिकतामा राख्न आग्रह गर्दै मल वितरण प्रणालीलाई पारदर्शी, बिचौलियामुक्त र प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका छन् ।

किसानले सहज रूपमा आवश्यक मल प्राप्त गर्ने वातावरण निर्माण गर्न नसकिए कृषि क्षेत्र थप संकटमा पर्ने उनको भनाइ छ ।

मण्डलले सामाजिक सञ्जालमा प्रतिक्रिया दिने वा प्रचारमुखी गतिविधिमा सीमित नभई जनजीविकासँग प्रत्यक्ष जोडिएका समस्याको समाधानमा सरकार केन्द्रित हुनुपर्ने बताएका छन् ।

उनले जनताको अपेक्षा आश्वासनभन्दा पनि व्यवहारिक काम र परिणाममुखी कार्यशैली रहेको उल्लेख गर्दै सरकारलाई जिम्मेवार ढंगले अघि बढ्न आग्रह गरेका छन् ।

उनका अनुसार कृषि नेपालको अर्थतन्त्रको प्रमुख आधार भएकाले किसानलाई समयमै मल उपलब्ध गराउनु सरकारको पहिलो दायित्व हो ।

खेतीको समयमा मल अभाव हुँदा उत्पादन घट्ने, किसानको लगानी जोखिममा पर्ने तथा खाद्य सुरक्षामै असर पर्ने भएकाले सरकारले यस विषयलाई उच्च प्राथमिकताका साथ लिनुपर्ने आवश्यकता रहेको उनले औंल्याएका छन् ।

मण्डलले सरकारले तत्काल पर्याप्त परिमाणमा युरिया, डीएपी र पोटासको आपूर्ति सुनिश्चित गर्दै वितरण प्रक्रियामा देखिएका अनियमितता, ढिलासुस्ती तथा बिचौलियाको प्रभाव अन्त्य गर्नुपर्ने बताएका छन् ।

किसानको समस्या समाधानमा प्रभावकारी कदम चाल्न सके मात्र सरकारप्रति जनविश्वास बलियो बन्ने उनको भनाइ छ ।

पछिल्ला केही सातादेखि मधेशसहित देशका विभिन्न जिल्लामा रासायनिक मलको अभाव देखिएको भन्दै किसानहरू चिन्तित छन् ।

रोपाइँ तथा बाली स्याहारको महत्वपूर्ण समयमा मल नपाउँदा उत्पादनमा असर पर्ने भन्दै किसानले सरकारसँग तत्काल सहज आपूर्तिको व्यवस्था गर्न माग गर्दै आएका छन् ।

यही सन्दर्भमा मण्डलले पनि सरकारलाई किसानको समस्यालाई राजनीतिक बहसभन्दा माथि उठेर व्यावहारिक रूपमा समाधान गर्न आग्रह गरेका हुन् ।