सर्पदंशपछि उपचारमा ढिलाइ हुँदा बालकको मृत्यु, स्वास्थ्य चौकीविरुद्ध स्थानीयको प्रदर्शन

सिरहा, ०९ साउन । सिरहाको भगवानपुर गाउँपालिकास्थित स्वास्थ्य चौकीमा उपचारका लागि आएका चार वर्षीय बालकको सर्पदंशपछि उपचारमा ढिलाइ हुँदा मृत्यु भएको आरोप लगाउँदै स्थानीयवासीले आन्दोलन सुरु गरेका छन् ।
घटनाप्रति आक्रोशित स्थानीयले शनिबार भगवानपुर चोकमा टायर बालेर सडक अवरुद्ध गर्दै स्वास्थ्य संस्थाको लापरबाहीमाथि छानबिन र दोषीमाथि कारबाहीको माग गरेका हुन् ।
मृत्यु हुनेमा भगवानपुर गाउँपालिका–४ निवासी रोशनकुमार मण्डल रहेका छन् । स्थानीयका अनुसार शुक्रबार दिउँसो आमा सुलेखा मण्डल सँग उपचारका लागि स्वास्थ्य चौकी पुगेका रोशन स्वास्थ्य चौकी परिसरमै खेलिरहेका बेला सर्पले टोकेको थियो ।
घटनापछि बालकलाई तत्काल सर्पदंश उपचार केन्द्र रहेको लहान अस्पताल लैजानुपर्ने अवस्था भए पनि स्वास्थ्य चौकीमा रहेको एम्बुलेन्स तत्काल उपलब्ध गराइएन । स्थानीयको आरोपअनुसार एम्बुलेन्स चालकले गाउँपालिका अध्यक्षको अनुमति नआएसम्म गाडी चलाउन नसकिने भन्दै बालकलाई लैजान अस्वीकार गरेका थिए ।
एम्बुलेन्स नपाएपछि परिवारले बाध्य भएर बालकलाई सिटी रिक्सामा राखी करिब १२ किलोमिटर टाढा रहेको लहान अस्पतालतर्फ लगे पनि उपचारमा ढिलाइ हुँदा बाटोमै उनको मृत्यु भएको स्थानीयवासीको दाबी छ । उनीहरूका अनुसार समयमै एम्बुलेन्स उपलब्ध भएको भए बालकको ज्यान जोगाउन सकिने अवस्था थियो ।
घटनापछि आक्रोशित स्थानीयले स्वास्थ्य चौकीको व्यवस्थापनप्रति गम्भीर प्रश्न उठाउँदै दोषीमाथि कारबाहीको माग गरेका छन् । भगवानपुर गाउँपालिका–४ का वडाध्यक्ष रामकुमार यादवले स्वास्थ्य चौकी परिसरको सरसफाइमा लापरबाही भएको र आकस्मिक अवस्थामा एम्बुलेन्स उपलब्ध गराउन नसक्नु व्यवस्थापकीय कमजोरी भएको स्वीकार गर्दै स्थानीयको आक्रोश स्वाभाविक रहेको बताए ।
यता, स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट राजेश यादवले भने घटनाको फरक व्याख्या गरेका छन् । उनका अनुसार बालकलाई सर्पले टोकेको हो वा अन्य कारण, विशेषगरी विद्युतीय करेन्ट लागेको हो भन्ने यकिन गर्न केही समय लागेको थियो । उनले एम्बुलेन्स तयारीकै क्रममा बालककी आमाले आफ्नै निर्णयमा सिटी रिक्सामा राखेर लहानतर्फ लागेको दाबी गरे ।
गाउँपालिका अध्यक्ष उग्रनारायण यादवको उपस्थितिमा घटनाबारे छानबिनका लागि बैठक बसिरहेको र निष्कर्षपछि मात्रै आधिकारिक धारणा सार्वजनिक गरिने स्वास्थ्य चौकीले जनाएको छ ।
घटनापछि स्थानीयले स्वास्थ्य संस्थामा आकस्मिक उपचार व्यवस्थापन, एम्बुलेन्स सञ्चालन प्रणाली र स्वास्थ्य चौकीको सुरक्षा तथा सरसफाइबारे गम्भीर प्रश्न उठाएका छन् । उनीहरूले निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

