१५ दिनभित्र मल अभाव अन्त्य हुने कृषिमन्त्रीको दाबी

जनकपुरधाम, ०९ साउन । सङ्घीय सरकारकी कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले धान रोपाइँको समयमा देखिएको रासायनिक मलको अभाव छिट्टै अन्त्य हुने दाबी गर्दै आगामी १५ दिनभित्र देशभर मल आपूर्ति सहज हुने बताएकी छन् ।
उनले अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा आएको असहजताका कारण केही समय समस्या देखिए पनि अहिले विभिन्न नाकाबाट पर्याप्त मात्रामा मल नेपाल भित्रिरहेको जानकारी दिइन् ।
शनिबार धनुषामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाअन्तर्गतका विभिन्न कार्यक्रम तथा परियोजनाको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री चौधरीले मौजुदा मलसमेत किसानसम्म पुर्याउने काम तीव्र रूपमा भइरहेको बताइन् । उनका अनुसार यो महिनाको १५ गतेसम्म अधिकांश किसानले सहज रूपमा रासायनिक मल प्राप्त गर्नेछन् ।
धनुषाको लक्ष्मिनियामा किसानसँग आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले रासायनिक मल र विषादीमा अत्यधिक निर्भरता घटाएर प्राङ्गारिक (अर्गानिक) खेतीलाई प्राथमिकतामा राख्नुपर्ने आवश्यकता औंल्याइन् ।
माटोको उर्वराशक्ति जोगाउन, वातावरण संरक्षण गर्न तथा सुरक्षित खाद्य उत्पादन सुनिश्चित गर्न प्राङ्गारिक मलको प्रयोगलाई अभियानकै रूपमा अघि बढाउनुपर्ने उनको भनाइ थियो ।
उनले अत्यधिक रासायनिक मल र विषादीको प्रयोगले खेतबारीको जैविक विविधता नष्ट हुँदै गएको उल्लेख गर्दै विगतमा खेतमा सहजै पाइने माछा तथा अन्य जीवजन्तु अहिले हराउँदै गएको बताइन् ।
‘हामीले उत्पादन गरेको अन्नसँगै विषादी पनि उपभोग गरिरहेका छौँ । त्यसैले अब रासायनिक मलको प्रयोग घटाउँदै प्राङ्गारिक खेतीतर्फ किसानलाई आकर्षित गर्न आवश्यक छ,’ उनले भनिन् ।
मन्त्री चौधरीले प्राङ्गारिक खेती विस्तार गर्न इच्छुक किसानलाई सरकारले आवश्यक प्राविधिक तथा अन्य सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन् । राष्ट्रिय कृषि आधुनिकीकरण आयोजना, प्रदेश सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक कार्यक्रम सञ्चालन गरिने उनले बताइन् ।
निरीक्षणको उद्देश्यबारे जानकारी दिँदै उनले आयोजनाबाट किसानले पाएको लाभ, कार्यक्रमको प्रभावकारिता तथा सुधार गर्नुपर्ने पक्षबारे प्रत्यक्ष जानकारी लिन आफू धनुषा आएको बताइन् ।
कृषि उत्पादनलाई दीर्घकालीन रूपमा सुदृढ बनाउन सिँचाइ र कृषि कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको पनि मन्त्री चौधरीले जानकारी दिइन् । सिँचाइ तथा ऊर्जा मन्त्रालयसँग यसबारे छलफल भइसकेको उल्लेख गर्दै उनले जहाँ सिँचाइ आयोजना सञ्चालन हुन्छ, त्यहाँ कृषि मन्त्रालयको प्राविधिक सेवा पनि सँगसँगै उपलब्ध गराउने गरी योजना बनाइएको बताइन् ।
उनले सिँचाइ तथा कृषि पूर्वाधार आवश्यकता र प्राविधिक मूल्याङ्कनका आधारमा मात्र निर्माण गरिने स्पष्ट पार्दै चुरे संरक्षण तथा जल पुनर्भरणका कार्यक्रम पनि वैज्ञानिक अध्ययनका आधारमा अघि बढाइने जानकारी दिइन् । जल पुनर्भरण हुने क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट परिचालन गरिने उनको भनाइ थियो ।
धनुषा भ्रमणका क्रममा मन्त्री चौधरीले लक्ष्मिनियामा सञ्चालित कृषि यान्त्रीकीकरण तथा सिँचाइ पूर्वाधार कार्यक्रम, मिथिला नगरपालिका–नकटाझिजस्थित कृषि यान्त्रीकीकरण प्रवर्द्धन केन्द्र, गणेशमान चारनाथ नगरपालिकाको व्यावसायिक आँप खेती तथा क्षिरेश्वरनाथ नगरपालिका–महेन्द्रनगरस्थित व्यवसायिक मत्स्यपालन फार्मको समेत निरीक्षण गरेकी थिइन् ।

