धान रोपाइँका बेला ३ सयभन्दा बढी बोरा डीएपी मल बरामद

जनकपुरधाम, ०९ साउन । धान रोपाइँको मुख्य सिजनमा किसानहरू रासायनिक मलको अभाव झेलिरहेका बेला धनुषाको धनुषाधाम नगरपालिका–५ नौसय बिघामा लुकाइछिपाइ राखिएको तीन सयभन्दा बढी बोरा डीएपी मल प्रहरीले बरामद गरेको छ । घटनामा स्थानीय वडासदस्य सुरेश साहको संलग्नता रहेको आशंकासहित प्रहरीले अनुसन्धान अघि बढाएको छ ।
जिल्ला प्रहरीका अनुसार शनिबार नौसय बिघा प्रहरी चौकीले स्रोत खुल्न नसकेको अवस्थामा गोदाममा लुकाएर राखिएको डीएपी मल नियन्त्रणमा लिएको हो ।
प्रहरी चौकीका इन्चार्ज अजय झाका अनुसार शुक्रबार मध्यराति दुई वटा टेम्पोमा मल लोड गरी अन्यत्र लैजान खोजिएको भन्ने सूचनापछि स्थानीयवासीको सहयोगमा प्रहरीले निगरानी बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा बाहिरबाट ताल्चा लगाएर बन्द गरिएको गोदाममा छापा मार्दा तीन सयभन्दा बढी बोरा डीएपी मल फेला परेको प्रहरीले जनाएको छ । बरामद मलको वास्तविक सङ्ख्या, खरिद प्रक्रिया र स्रोतबारे विस्तृत अनुसन्धान भइरहेको छ । बरामद गरिएको मल आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धनुषाधाम पठाइएको छ ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा धनुषाधाम–५ का वडाध्यक्ष इन्दल महतो सञ्चालक रहेको पर्वता कृषि सहकारी संस्थाको दैनिक कारोबार वडासदस्य सुरेश साहले हेर्दै आएको खुलेको छ । घटनापछि साह फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको प्रहरीले जनाएको छ ।
स्थानीयवासी गोविन्द यादवले किसानलाई सहकारीमा मल छैन भन्दै फर्काउने, तर गोदाममा ठूलो परिमाणमा मल लुकाएर कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा बिक्री गर्ने उद्देश्य रहेको आरोप लगाए । उनले धान रोपाइँको संवेदनशील समयमा किसानलाई मर्कामा पार्ने कार्यमा संलग्न जोकोहीमाथि कडा कानुनी कारबाही हुनुपर्ने माग गरे ।
धान रोपाइँको चरम समयमा मधेशका अधिकांश जिल्लामा रासायनिक मलको अभाव भइरहेका बेला ठूलो परिमाणमा डीएपी मल गोदाममा लुकाएर राखिएको घटना सार्वजनिक भएपछि स्थानीय किसान र सर्वसाधारणबीच व्यापक चासो र आक्रोश देखिएको छ । प्रहरीले घटनाको सबै पक्षबाट अनुसन्धान जारी रहेको जनाएको छ ।

