मधेशका १० पालिकामा ‘नमूना कृषि कार्यक्रम’ सञ्चालन हुने

जनकपुरधाम, ०९ साउन । मधेश प्रदेशका किसानलाई प्रत्यक्ष रूपमा आधुनिक कृषि प्रविधि, प्राविधिक परामर्श र अनुसन्धानको नतिजा उपलब्ध गराउने उद्देश्यले प्रदेशका १० स्थानीय तहमा ‘नमूना कृषि कार्यक्रम’ सञ्चालन गरिने भएको छ ।
कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ–प्रदेश समन्वयसम्बन्धी उच्चस्तरीय बैठकमा उक्त कार्यक्रमबारे जानकारी दिँदै कार्यान्वयनका लागि कम्तीमा १० वटा पालिका छनोट गर्न आग्रह गरेकी हुन् ।
मन्त्री चौधरीले कृषि क्षेत्रमा अब नीति निर्माणभन्दा कार्यान्वयनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता औंल्याउँदै अनुसन्धानबाट प्राप्त नयाँ प्रविधि र ज्ञानलाई सीधै किसानको खेतसम्म पुर्याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताइन् ।
उनका अनुसार छनोट हुने पालिकामा कृषि उत्पादन वृद्धि, प्राविधिक सेवा विस्तार, किसान लक्षित तालिम, कृषि परामर्श तथा नयाँ प्रविधिको हस्तान्तरणलाई एकीकृत रूपमा लागू गरिनेछ । यसबाट किसानले आधुनिक खेती प्रणालीबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने र उत्पादनमा समेत वृद्धि हुने विश्वास गरिएको छ ।
मन्त्री चौधरीले प्राङ्गारिक (अर्गानिक) खेतीलाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै माटोको उर्वराशक्ति संरक्षण, सुरक्षित खाद्य उत्पादन तथा दिगो कृषि प्रणाली विकास सरकारको प्रमुख लक्ष्य रहेको बताइन् ।
कृषि, वन तथा वातावरण क्षेत्रको समग्र विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, स्रोत–साधनको उचित परिचालन तथा साझा योजनाका आधारमा अघि बढ्नुपर्नेमा उनले जोड दिइन् ।
बैठकमा मन्त्री चौधरीले प्रदेश सरकारबाट प्राप्त सुझाव र आवश्यकतालाई संघीय सरकारले प्राथमिकताका साथ सम्बोधन गर्ने प्रतिबद्धता पनि व्यक्त गरेकी छन् ।

