जेनजी आन्दोलनमा गौर कारागारबाट फरार कैदी पक्राउ

जनकपुरधाम, ०९ साउन । गत भदौमा भएको ‘जेनजी’ आन्दोलनका क्रममा गौर कारागारबाट फरार भएका एक कैदीलाई रौतहट प्रहरीले पक्राउ गरेको छ ।
जबरजस्ती करणीपछि हत्या गरेको अभियोगमा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका रौतहटका एक व्यक्तिलाई फरार भएको करिब १० महिनापछि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका–७ निवासी ३० वर्षीय प्रभु माझी रहेका छन् । उनी जबरजस्ती करणी तथा कर्तव्य ज्यान मुद्दामा सर्वोच्च अदालतबाट २० वर्ष कैद सजाय पाएपछि गौर कारागारमा कैद भुक्तान गरिरहेका थिए ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गत भदौ २४ गते ‘जेनजी’ आन्दोलनका क्रममा कारागारबाट फरार भएका माझी गाउँघरमै लुकीछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा खोजी अभियान सञ्चालन गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहट र इलाका प्रहरी कार्यालय शिवनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले कटहरिया नगरपालिका–७ बगही क्षेत्रमा खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमले पक्राउ परेका माझीलाई बाँकी कैद सजाय भुक्तानका लागि गौर कारागार कार्यालयमा बुझाउने प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
प्रहरीका अनुसार माझीले वि.सं. २०६८ फागुन २५ गते साँझ रौतहटको कटहरिया नगरपालिका–७ स्थित एक पोखरीको डिलमा पाँच वर्षीया बालिकालाई जबरजस्ती करणी गरी हत्या गरेको अभियोगमा दोषी ठहर भएका थिए । उक्त घटनामा सर्वोच्च अदालतले उनलाई २० वर्ष कैद सजाय सुनाएको थियो ।
प्रहरीले फरार कैदीको खोजी अभियानलाई निरन्तरता दिँदै कानुनी कारबाहीबाट उम्किन खोज्ने व्यक्तिलाई नियन्त्रणमा लिन थप निगरानी र अनुसन्धान जारी राखेको जनाएको छ ।

