मधेशमा गुणस्तरहीन खाद्य पदार्थ बेच्ने ६२ उद्योगी–व्यवसायीविरुद्ध मुद्दा

जनकपुरधाम, ०९ साउन । गुणस्तरहीन तथा मिसावटयुक्त खाद्य पदार्थ उत्पादन र बिक्री गरेको आरोपमा मधेश प्रदेशका ६२ उद्योगी–व्यवसायीविरुद्ध कानुनी कारबाही अघि बढाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा गरिएको अनुगमन तथा प्रयोगशाला परीक्षणका आधारमा सम्बन्धित जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरेको हो ।
कार्यालय प्रमुख विमलकुमार दाहालका अनुसार बारा र पर्साका ५१, महोत्तरीका सात, सर्लाही र रौतहटका तीन तथा धनुषाका एक उद्योगी–व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम मुद्दा दर्ता गरिएको छ । यस्तै, सप्तरी र सिरहाका तीन तथा धनुषाका दुई गरी थप पाँच उद्योगी–व्यवसायीविरुद्ध पनि मुद्दा दर्ता गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको उनले बताए ।
कार्यालयका अनुसार विभिन्न जिल्लाबाट सङ्कलन गरिएका खाद्य नमुनाको परीक्षण गर्दा स्वास्थ्यका लागि हानिकारक मिसावट, गुणस्तर मापदण्ड उल्लङ्घन तथा म्याद गुज्रिएका खाद्य वस्तुको बिक्री–वितरण भएको पाइएको थियो । सोही आधारमा दोषी उद्योगी–व्यवसायीमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको हो ।
गत आर्थिक वर्षमा मधेश प्रदेशभरबाट कुल ४ हजार ५५९ खाद्य नमुना सङ्कलन गरिएको थियो । तीमध्ये कानुनी प्रावधानअनुसार ५७८ नमुना नियमित अनुगमनबाट, १ हजार २२८ नमुना उत्पादकको आग्रहमा २० नमुना सरकारी निकायबाट प्राप्त भएका थिए भने बाँकी नमुना विभिन्न निरीक्षण तथा परीक्षण कार्यक्रममार्फत सङ्कलन गरिएको कार्यालयले जनाएको छ । परीक्षणका क्रममा ३५ नमुनामा प्रतिकूल नतिजा देखिएको र १० नमुनामाथि कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।
खाद्य सुरक्षासम्बन्धी निगरानीलाई तीव्र बनाउँदै कार्यालयले सोही अवधिमा ५१० वटा ताजा फलफूल तथा तरकारीमा विषादी परीक्षण तथा ३१० वटा स्वच्छता सर्भिलेन्स सम्पन्न गरेको जनाएको छ ।
उपभोक्तालाई सुरक्षित खाद्य पदार्थ उपलब्ध गराउने उद्देश्यले धनुषा जिल्लामा मात्रै ६० पटक अनुगमन सञ्चालन गरिएको थियो । यस क्रममा २५० होटल तथा रेष्टुरेन्टको निरीक्षण गरिएको कार्यालयले जनाएको छ । साथै १२१ उद्योगलाई नयाँ अनुज्ञापत्र जारी गरिएको, ३०७ उद्योगको नवीकरण गरिएको तथा ३४७ उद्योगका लागि सिफारिस प्रदान गरिएको छ । यी सेवामार्फत कार्यालयले ३८ लाख ३६ हजार १७० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ ।
अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायीमाथि जरिवानासमेत गरिएको छ । गत असार महिनामा धनुषाका ४४ होटल तथा रेष्टुरेन्टमा गरिएको अनुगमनमा १२ वटामा कमजोरी भेटिएपछि ४ लाख २० हजार रुपैयाँ जरिवाना गरिएको थियो । यस्तै सर्लाहीका २४ होटलमध्ये १७ वटामा खाद्य स्वच्छतासम्बन्धी त्रुटि फेला परेपछि ६ लाख ६७ हजार रुपैयाँ जरिवाना गरिएको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार निरीक्षणका क्रममा म्याद गुज्रिएका, लेबल विवरण नभएका, सडेगलेका तथा अन्य अखाद्य वस्तुहरू जफत गरी सम्बन्धित सरोकारवालाको रोहबरमा नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय भएकाले खाद्य उत्पादन तथा बिक्रीमा गुणस्तर र स्वच्छताका मापदण्ड कडाइका साथ पालना गर्न उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।

