जनकपुरधाम, ०९ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोरिङ तथा मोटर जडानको भुक्तानी गरिदिने नाममा सेवाग्राहीसँग घुस लिएको आरोपमा भूमिगत जलश्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सर्लाहीका डिभिजन प्रमुखसहित दुई जना कर्मचारीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कार्यालयका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी रहेका छन् । अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई साउन ८ गते बागमती नगरपालिका–१२ स्थित डिभिजन प्रमुखको सरकारी क्वार्टरबाट नियन्त्रणमा लिएको हो ।

अख्तियारका अनुसार सेवाग्राहीले बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरिसकेपछि भुक्तानीका लागि आवश्यक प्रक्रिया अघि बढाउँदा दुवै कर्मचारीले रकम माग्दै अनावश्यक दुःख–हैरानी दिएका थिए । सेवाग्राहीबाट घुस मागिएको भन्ने सूचनाका आधारमा अख्तियारले विशेष निगरानी र अनुसन्धान थालेको थियो ।

अनुसन्धानका क्रममा सेवाग्राहीबाट ७ लाख ५० हजार रुपैयाँ घुस बुझिसकेको अवस्थामा दुवै जनालाई रंगेहात पक्राउ गरिएको आयोगले जनाएको छ ।

खानतलासीका क्रममा उनीहरूको साथबाट घुसबापत लिइएको साढे ७ लाख रुपैयाँका अतिरिक्त स्रोत नखुलेको ७१ हजार ११५ रुपैयाँ नगद र तीन थान मोबाइल फोन समेत बरामद भएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन् ।

अख्तियारले बरामद नगद र मोबाइललाई प्रमाणका रूपमा नियन्त्रणमा लिई दुवै आरोपितमाथि भ्रष्टाचार निवारण ऐनअन्तर्गत थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

भुक्तानी प्रक्रिया नै प्रभावित बनाउँदै सेवाग्राहीसँग घुस असुल्ने घटनाले सरकारी कार्यालयमा हुने आर्थिक अनियमिततामाथि पुनः प्रश्न उठाएको छ । अख्तियारले यस्ता घटनामा संलग्न जोकोहीलाई कानुनी दायरामा ल्याइने जनाएको छ ।