जनकपुरधाम, ०१ साउन । मधेश प्रदेश सरकारले डा. सत्यनारायण यादवलाई मधेश प्रदेश नीति तथा योजना आयोगको सदस्यमा नियुक्त गरेको छ ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले शुक्रबार डा. यादवलाई नियुक्तिपत्र हस्तान्तरण गरेका हुन् ।

नियुक्तिपछि आयोगका उपाध्यक्ष राजकुमार सिंहले डा. यादवलाई स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् ।

प्रदेश सरकारको नीति निर्माण, विकास योजना तर्जुमा तथा कार्यान्वयनमा परामर्श दिने जिम्मेवारी रहेको आयोगमा डा. यादवको नियुक्तिसँगै आयोगको कार्यसम्पादन अझ प्रभावकारी हुने विश्वास गरिएको छ ।

नवनियुक्त सदस्य डा. यादवले प्रदेशको समग्र विकास, दीर्घकालीन योजना निर्माण तथा नीतिगत सुधारका क्षेत्रमा आफ्नो अनुभव र दक्षता उपयोग गर्दै जिम्मेवारी निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।