अनुचित लेनदेन मुद्दाका फरार तीन प्रतिवादी पक्राउ

जनकपुरधाम, ०१ साउन । अनुचित लेनदेन (मिटरब्याज) तथा ठगीसम्बन्धी मुद्दामा फरार रहेका एकै परिवारका तीन जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१६ कपिलेश्वर निवासी ५३ वर्षीय गोपाल साह, उनकी श्रीमती ४८ वर्षीया रेखा साह तथा छोरा ३२ वर्षीय हरेराम साह रहेका छन् ।
प्रहरीका अनुसार गोपाल साहलाई जनकपुरधाम उपमहानगरपालिका–१४ स्थित जानकी वाटिका होटलबाट पक्राउ गरिएको हो ।
रेखा साहलाई नगराइन नगरपालिका अन्तर्गत जटही सीमा नाकाबाट नियन्त्रणमा लिइएको थियो भने हरेराम साहलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको प्रहरी टोलीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मा लगाएको हो ।
तीनै जना ठगी तथा अनुचित लेनदेनसम्बन्धी चलिरहेको मुद्दामा फरार प्रतिवादी रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीहरूलाई शुक्रबार धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
अदालतबाट अनुसन्धानका लागि म्याद थप भएपछि हाल जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए ।

