धनुषामा ११ फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, ०१ साउन । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय तोकिएपछि फरार रहेका ११ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै जिल्ला अदालत धनुषाको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीहरूको खोजतलास गरी पक्राउ गरिएको जनाएको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी जिल्ला अदालत धनुषामा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेकामध्ये सवारी ज्यान, मोटरसाइकल चोरी, जालसाजी, ठगी, लागूऔषध, भवितव्य ज्यान, लुटपाट तथा सवारी ज्यान एवं सवारी अंगभंगसम्बन्धी मुद्दाका प्रतिवादी रहेका छन् ।
उनीहरूमध्ये एक जनालाई लागूऔषध मुद्दामा एक वर्ष कैद, अर्का एक जनालाई ठगी मुद्दामा ६ महिना कैद तथा तीन लाख ७५ हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।
मोटरसाइकल चोरी मुद्दाका प्रतिवादीलाई एक महिना कैद र २५ हजार रुपैयाँ जरिवाना तथा लुटपाट र जालसाजी मुद्दाका प्रतिवादीलाई अदालतले जरिवाना सजाय तोकेको थियो ।
त्यसैगरी, सवारी ज्यान तथा सवारी ज्यान–सवारी अंगभंगसम्बन्धी विभिन्न मुद्दाका प्रतिवादीहरूलाई १० दिनदेखि एक महिना पाँच दिनसम्म कैद र पाँच सयदेखि दुई हजार रुपैयाँसम्म जरिवानाको फैसला भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने बताएका छन् ।

