जनकपुरधाम, ०१ साउन । जनकपुरधाम उपमहानगरपालिका–१६ स्थित श्री आधारभूत विद्यालय कपिलेश्वरले छात्रा तथा दलित समुदायका ७१ जना विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

विद्यालयमा आयोजित कार्यक्रममा कक्षा २ देखि ६ सम्म अध्ययनरत छात्रा र दलित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी वडा नं. १६ का अध्यक्ष रामचन्द्र पंजियारले आर्थिक अवस्था वा सामाजिक पृष्ठभूमिका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुन नहुने बताए ।

उनले छात्रवृत्ति कार्यक्रमले विद्यार्थीलाई नियमित रूपमा विद्यालय आउन, अध्ययनमा रुचि बढाउन तथा शैक्षिक उपलब्धि सुधार गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक गौरीशंकर लाल कर्णले सरकारले उपलब्ध गराएको छात्रवृत्ति लक्षित वर्गका विद्यार्थीसम्म पारदर्शी ढंगले वितरण गरिएको जानकारी दिए ।

उनले यस्तो कार्यक्रमले विद्यार्थीको विद्यालयप्रतिको आकर्षण बढाउनुका साथै पढाइलाई निरन्तरता दिन सहयोग पुग्ने बताए ।

कार्यक्रममा शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो ।

विद्यालयले छात्रवृत्तिजस्ता प्रोत्साहनमूलक कार्यक्रमले विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि गर्नुका साथै विद्यालयको टिकाइदर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।