मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त सम्पन्न, ४३ विद्यार्थी दीक्षित

जनकपुरधाम, ०१ साउन । मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोह सम्पन्न भएको छ ।
समारोहमा विभिन्न शैक्षिक कार्यक्रमका ४३ जना विद्यार्थी औपचारिक रूपमा दीक्षित भएका छन् ।
प्रतिष्ठानका कुलपति तथा मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै गुणस्तरीय स्वास्थ्य सेवा विस्तारका लागि दक्ष चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी उत्पादन अपरिहार्य रहेको बताए ।
स्वास्थ्य शिक्षालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले दक्ष जनशक्ति उत्पादनमार्फत प्रदेशको स्वास्थ्य प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्य रहेको स्पष्ट पारे ।
मुख्यमन्त्री यादवले सीमित स्रोत–साधन र विभिन्न चुनौतीका बीच प्रतिष्ठान पहिलो दीक्षान्त समारोहसम्म आइपुग्नु प्रदेश सरकारका लागि गौरवको विषय भएको बताए ।
उनले प्रतिष्ठानलाई सुविधा सम्पन्न शैक्षिक संस्थाका रूपमा विकास गर्न प्रदेश सरकारले आवश्यक सहयोगमा कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिष्ठानलाई शिक्षण, अनुसन्धान तथा नवप्रवर्तनको उत्कृष्ट केन्द्रका रूपमा विकास गर्न आगामी दिनमा नयाँ योजना र कार्यक्रम ल्याइने पनि मुख्यमन्त्री यादवले जानकारी दिए ।
कार्यक्रममा प्रतिष्ठानका उपकुलपति डा. अंकुर साहले शिक्षण, अनुसन्धान र स्वास्थ्य सेवामार्फत राष्ट्रलाई दक्ष स्वास्थ्य जनशक्ति उपलब्ध गराउने उद्देश्यका साथ प्रतिष्ठान अघि बढिरहेको बताए ।
विभिन्न चुनौतीका बाबजुद पहिलो दीक्षान्त समारोह आयोजना गर्न सफल हुनु संस्थाका लागि ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै उनले दीक्षित विद्यार्थीहरूलाई समाज, राष्ट्र र मानव सेवाप्रति समर्पित भएर काम गर्न आग्रह गरे ।
यस वर्षको दीक्षान्त समारोहमा ब्याचलर इन नर्सिङ साइन्स (बीएनएस) प्रथम ब्याचका १३, दोस्रो ब्याचका १२ र तेस्रो ब्याचका १५ गरी ४० जना, एमडी/एमएस कार्यक्रमबाट १ जना तथा ब्याचलर इन पब्लिक हेल्थ (बीपीएच) बाट १ जना विद्यार्थी दीक्षित भएका छन् ।
आयोजकका अनुसार समारोहमा कुल ४३ जना विद्यार्थीलाई दीक्षान्त प्रदान गरिएको हो ।

