जनकपुरधाम, ०१ साउन । जनकपुरधामलाई व्यवस्थित, सुरक्षित र पर्यटकमैत्री गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले पर्यटन सूचना बोर्ड तथा दिशासूचक संकेत चिन्ह जडानको तयारी अगाडि बढाइएको छ ।

यसका लागि जनकपुरधाम उपमहानगरपालिका, दिगो पर्यटन परियोजना, नेपाल पर्यटन बोर्ड तथा वाटरकम स्ट्राटेजी एण्ड डिजाइनको सहकार्यमा सरोकारवालासँग छलफल कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा जनकपुरधामका प्रमुख धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक स्थलहरूमा पर्यटन सूचना बोर्ड र संकेत चिन्ह जडान गर्ने स्थान छनोट, डिजाइन, सूचना सामग्री तथा कार्यान्वयन प्रक्रियाबारे विस्तृत छलफल गरिएको छ ।

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिष पटेलले जनकपुरधाम धार्मिक पर्यटनको केन्द्र भएकाले आधुनिक सूचना प्रणाली निर्माण अपरिहार्य रहेको बताए । उनले जनकपुरधामको पर्यटन क्षेत्रमा काम गर्दै आई रहेका तथा टुरिष्ट गाइडहरुलाई समेत यसमा प्रयोग गर्न आग्रह गरे ।

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले स्थानीय सरकार पर्यटन पूर्वाधार विस्तारलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताए ।

उनले जनकपुरधाममा अहिले दैनिक अन्तगृह परिक्रमा भईरहेको र सो परिक्रमामा सहभागी भएरै पर्यटकहरु फर्किइनु त्यस हिसाबले आफूहरु तयारी गरिरहेको जानकारी दिए ।

कार्यक्रममा छलफलबाट प्राप्त सुझावका आधारमा पर्यटन सूचना बोर्ड तथा संकेत चिन्ह जडान हुने स्थानको अन्तिम टुंगो लगाइने तथा त्यसपछि निर्माण तथा स्थापना प्रक्रिया अघि बढाइने आयोजकले जनाएको छ ।

जनकपुरधामलाई अन्तर्राष्ट्रियस्तरको धार्मिक तथा सांस्कृतिक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने अभियानमा यस पहललाई महत्वपूर्ण कदमका रूपमा हेरिएको छ ।