जनकपुरधाम–२१ मा डिहवार स्थानको नवनिर्मित मन्दिर उद्घाटन

जनकपुरधाम, ०१ साउन । जनकपुरधाम उपमहानगरपालिका–२१ कुर्थास्थित ऐतिहासिक डिहवार स्थानको नवनिर्मित मन्दिरको शुक्रबार औपचारिक उद्घाटन गरिएको छ ।
असारी पूजाको अवसर पारेर आयोजित कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोजकुमार साहले मन्दिर उद्घाटन गरेका हुन् ।
वर्षौंदेखि जीर्ण अवस्थामा रहेको डिहवार स्थानको मन्दिर वडा नम्बर २१ को २० लाख रुपैयाँको बजेटबाट पुनर्निर्माण गरी व्यवस्थित बनाइएको हो ।
उद्घाटन समारोहमा बोल्दै नगरप्रमुख साहले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण स्थानीय सरकारको प्राथमिकतामा रहेको बताए ।
मिथिलामा प्रत्येक गाउँका प्रथम बासिन्दा वा संस्थापक व्यक्तिको स्मरणमा डिहवार स्थान स्थापना गरी पूजा गर्ने परम्परा रहिआएको छ ।
सोही परम्परालाई संरक्षण गर्दै कुर्थास्थित डिहवार स्थानलाई आधुनिक संरचनासहित पुनर्निर्माण गरिएको जनाइएको छ ।
वडाध्यक्ष राजनारायण साहका अनुसार मन्दिर उद्घाटनसँगै शुक्रबार असारी पूजासमेत श्रद्धापूर्वक सम्पन्न गरिएको थियो ।
धार्मिक तथा सांस्कृतिक पहिचान जोगाउने उद्देश्यले आगामी दिनमा यस्ता सम्पदाको संरक्षण र प्रवर्द्धनलाई निरन्तरता दिइने उनले बताए ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, स्थानीय अगुवा, समाजसेवी तथा ठूलो संख्यामा स्थानीयवासीको सहभागिता रहेको थियो ।

