जनकपुरधाम, ०१ साउन । जनकपुरधाम उपमहानगरपालिकाभित्र राजगुठीअन्तर्गत रहेका विभिन्न ऐतिहासिक पोखरी तथा तिनका डिल क्षेत्रमा भएको अतिक्रमण सात दिनभित्र हटाउन सरकारले निर्देशन दिएको छ ।

गुठीको जग्गा संरक्षण तथा व्यवस्थापनका लागि गठित उच्चस्तरीय कार्यदलको प्रतिवेदन–२०६२ कार्यान्वयन समितिले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै अतिक्रमित संरचना तत्काल हटाउन सम्बन्धित व्यक्ति तथा संस्थालाई आग्रह गरेको हो ।

सूचनाअनुसार विशहरा पोखरी, दशरथ तालाउ, अर्गजा सर, रत्न सागर पोखरी, मुरली सर, दीर्घिका सर, गोडधोई पोखरीलगायत राजगुठीअन्तर्गतका जलाशय र तिनका डिल क्षेत्रमा अनधिकृत रूपमा निर्माण गरिएका संरचना हटाउन सात दिनको समय दिइएको छ ।

समितिले केही व्यक्ति तथा संस्थाले गुठीको स्वामित्वमा रहेका पोखरी र सार्वजनिक जग्गामा अनुमति बिना संरचना निर्माण गरी लामो समयदेखि भोगचलन गर्दै आएको पाइएको जनाएको छ ।

सार्वजनिक सम्पत्ति तथा ऐतिहासिक गुठी सम्पदाको संरक्षणका लागि अतिक्रमण हटाउने अभियान अघि बढाइएको समितिको भनाइ छ ।

सूचनामा तोकिएको समयसीमाभित्र अतिक्रमण स्वेच्छाले नहटाए प्रचलित कानुनअनुसार हटाउने तथा आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विगतमा बनेका आयोग तथा कार्यदलका प्रतिवेदन कार्यान्वयनलाई तीव्रता दिँदै जनकपुरधामका गुठी जग्गा, पोखरी तथा अन्य सार्वजनिक सम्पत्तिको संरक्षणलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ ।