जनकपुरधाम, ३२ असार । मधेश प्रदेश सभाको समन्वयमा जनकपुरधाममा संसदीय प्रक्रिया, विधि निर्माण र लोकतान्त्रिक अभ्याससम्बन्धी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा धनुषा, महोत्तरी र सर्लाही जिल्लाका सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरूको सहभागिता रहेको थियो ।

‘संसदीय पहुँच प्रवर्द्धन तथा सार्वजनिक सुनुवाइ परियोजना’ अन्तर्गत पिपल प्रोमोट सेन्टरको आयोजना तथा संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को संसद सहयोग परियोजनाको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा सहभागी शिक्षकहरूलाई संसदीय व्यवस्था, कानुन निर्माण प्रक्रिया, प्रदेश सभाको भूमिका, सार्वजनिक सुनुवाइ, संसदीय समितिको कार्यप्रणाली तथा नागरिक सहभागिताका विषयमा जानकारी गराइएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेश सभाका सभामुख रामआशिष यादवले लोकतान्त्रिक शासन व्यवस्थालाई प्रभावकारी बनाउन संसदको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै संसदीय अभ्यासबारे विद्यार्थीलाई सही जानकारी दिन शिक्षकहरूको भूमिका अझ महत्वपूर्ण रहेको बताए ।

उनले संसद सञ्चालन, विधेयक निर्माण, जनप्रतिनिधिको जिम्मेवारी र नागरिकको सहभागिताबारे शिक्षकहरूलाई व्यवहारिक जानकारी प्रदान गरिएको बताए ।

पिपल प्रोमोट सेन्टरका अध्यक्ष कमलेशकुमार मण्डलले शिक्षक र विद्यार्थीमा संसदीय अभ्यास तथा लोकतन्त्रप्रतिको बुझाइ अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

पहिलो चरणमा तीन जिल्लाका ३० जना सामुदायिक विद्यालयका शिक्षकलाई सहभागी गराइएको र आगामी चरणमा विद्यालयस्तरमै शिक्षक तथा विद्यार्थीलाई समेटेर यस्ता कार्यक्रम विस्तार गरिने उनले बताए ।

कार्यक्रममा सहभागी शिक्षकहरूले संसदीय प्रणाली र लोकतान्त्रिक प्रक्रियालाई व्यवहारिक रूपमा बुझ्ने अवसर प्राप्त भएको प्रतिक्रिया दिएका थिए ।

उनीहरूले कक्षाकोठामा विद्यार्थीलाई लोकतान्त्रिक अभ्यासबारे प्रभावकारी रूपमा सिकाउन यस्तो अभिमुखीकरण उपयोगी हुने विश्वास व्यक्त गरे ।