धनुषा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

जनकपुरधाम, ३२ असार । धनुषा जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ ।
जिल्लाका सबै स्थानीय तहले राष्ट्रिय मापदण्डअनुसार नियमित खोप कार्यक्रमका सूचकहरू पूरा गरेपछि औपचारिक रूपमा धनुषालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जिल्ला खोप समन्वय समिति धनुषा र स्वास्थ्य कार्यालय धनुषाले आयोजना गरेको घोषणा कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री नागेन्द्र साहले पूर्ण खोप सुनिश्चितता घोषणा औपचारिक उपलब्धि मात्र नभई बालबालिकाको स्वास्थ्य सुरक्षाप्रतिको राज्यको प्रतिबद्धताको महत्वपूर्ण प्रमाण भएको बताए ।
उनले खोपबाट कुनै पनि बालबालिका वञ्चित नहोस् भन्ने उद्देश्यका साथ स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
स्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवले जिल्लाका १८ वटै स्थानीय तहले खोप कार्यक्रमका निर्धारित सूचक पूरा गरेपछि धनुषालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जानकारी दिए ।
उनका अनुसार आगामी दिनमा नियमित खोप कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै खोप छुटेका बालबालिकाको खोजी, अभिलेख व्यवस्थापन र समुदायस्तरमा जनचेतना अभिवृद्धिलाई प्राथमिकताका साथ अघि बढाइनेछ ।
घोषणा कार्यक्रममा जिल्ला समन्वय समिति, स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, स्वास्थ्यकर्मी, विकास साझेदार संस्था तथा अन्य सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।
सो अवसरमा जिल्लाका १८ वटै स्थानीय तहका स्वास्थ्यकर्मीलाई नियमित खोप कार्यक्रम सफल बनाउन योगदान पुर्याएको भन्दै सम्मानसमेत गरिएको थियो ।

