सप्तरी, ३२ असार । डाँका मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका एक प्रतिवादीलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार फैसला कार्यान्वयन अभियानअन्तर्गत इलाका प्रहरी कार्यालय कडरबोनाबाट खटिएको प्रहरी टोलीले डाँका मुद्दामा ६ वर्ष कैद र ७२ हजार रुपैयाँ जरिवाना सजाय तोकिएका भूप नारायण साह (नारायण साह तेली) लाई पक्राउ गरेको हो ।

साविक टिकुलिया गाविस–२ हाल खडक नगरपालिका–५ निवासी साहलाई खोजतलासका क्रममा पक्राउ गरी असार २५ गते सप्तरी जिल्ला अदालत राजविराजमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमराज घिमिरेले जानकारी दिए ।

अदालतको आदेशपछि दोषी ठहर भएका साहलाई तोकिएको कैद सजाय भुक्तानका लागि कारागार कार्यालय राजविराज पठाइएको प्रहरीले जनाएको छ ।