धनुषामा गाँजाको पुरिया बनाएर बिक्री गर्ने दुई जना पक्राउ
जनकपुरधाम, ०९ कार्तिक । धनुषामा गाँजाको स–साना पुरिया बनाएर बिक्रीवितरण गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले उनीहरूको साथ तथा घरबाट कुल ४५३ ग्राम गाँजा बरामद गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार गणेशमान चारनाथ नगरपालिका–९ बरमझियाका ३२ वर्षीय अब्दुल रहमानले आफ्नै घरमा गाँजाको साना पुरिया बनाई प्रतिपुरिया १०० रुपैयाँमा स्थानीय युवालाई बिक्री गर्ने गरेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो ।
सोही क्रममा इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले आइतबार साँझ करिब ६ बजे रहमानको घरमा खानतलासी गर्दा बिक्रीका लागि तयार पारिएका कागजका ५५ वटा पुरियामा राखिएको ३६० ग्राम गाँजा बरामद गरेको प्रहरीले जनाएको छ ।
गाँजासहित पक्राउ परेका रहमानमाथि लागुऔषधसम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ ।
यसैगरी, जनकपुरधाम उपमहानगरपालिका–२० रूपैठाका ३५ वर्षीय रामललित साहलाई पनि गाँजासहित प्रहरीले पक्राउ गरेको छ ।
साहलाई १४ वटा पुरियामा राखिएको ९३ ग्राम गाँजासहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार दुवै घटनामा पक्राउ परेका व्यक्तिमाथि लागुऔषधसम्बन्धी अनुसन्धान भइरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




