पर्सा, ३२ असार । वर्षाका बाबजुद वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ गहवामाई मन्दिरको चौथो रथयात्रा बिहीबार भव्य रूपमा सम्पन्न भएको छ ।

धार्मिक आस्था, भक्ति र उत्साहका साथ आयोजित रथयात्रामा एक लाखभन्दा बढी श्रद्धालु सहभागी भएको आयोजकले जनाएको छ ।

गहवामाई मन्दिर परिसरबाट सुरु भएको रथयात्रा घण्टाघर, रेलवे रोडको भित्री बाइपास, छपकैया, मुख्य सडक, मकालु होटल चोक, आदर्शनगर हुँदै घडिअर्वा पोखरीको एक नम्बर गेटबाट पुनः माईस्थान मन्दिर परिसरमा पुगेर समापन गरिएको थियो ।

गहवामाई तीर्थ क्षेत्र विकास समिति अन्तर्गत रथयात्रा–२०८३ का संयोजक बसन्तकुमार गुप्ताका अनुसार बिहान साढे ७ बजे निकाल्ने तयारी गरिएको रथयात्रा लगातारको वर्षाका कारण केही ढिलो सुरु गरिएको थियो । प्रतिकूल मौसमका बीच पनि श्रद्धालुको उत्साहमा कुनै कमी नआएको उनले बताए ।

मुख्य सडक विस्तारका क्रममा भत्काइएका संरचनाका कारण केही स्थानमा असहज अवस्था सिर्जना भए पनि रथयात्रा व्यवस्थित रूपमा सम्पन्न भएको आयोजकको भनाइ छ ।

समितिका अध्यक्ष श्यामकुमार पोखरेलले मौसम खराब भएका कारण हेलिकप्टरमार्फत गर्ने भनिएको पुष्पवृष्टि कार्यक्रम रद्द गर्नुपरेको जानकारी दिए ।

उनका अनुसार काठमाडौंबाट हेलिकप्टर उड्न नसकेपछि उक्त कार्यक्रम स्थगित गरिएको हो । रथयात्रामा महिलाको उल्लेख्य सहभागिता रहेको उनले बताए । साँझ आयोजना हुने सन्ध्या भजनमा पनि ठूलो संख्यामा भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ ।

रथयात्रालाई सुरक्षित र व्यवस्थित बनाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा ट्राफिक प्रहरीले विशेष सुरक्षा व्यवस्था मिलाएका थिए ।

रथयात्रा मार्गभर सुरक्षाकर्मी परिचालन गरिएको थियो भने ट्राफिक व्यवस्थापनका लागि वैकल्पिक मार्गसमेत सञ्चालन गरिएको थियो ।

यसैबीच, माईस्थान मन्दिर सञ्चालक समितिका अध्यक्ष नरेन्द्र साहका अनुसार गहवामाई मन्दिरमा बिहीबार १४औँ वार्षिक पूजा–अर्चना कार्यक्रमसमेत आयोजना गरिएको छ ।

बिहानदेखि सुरु भएको पूजा, हवन र आरतीपछि साँझ भक्तजनलाई प्रसाद वितरण गरिने कार्यक्रम तय गरिएको छ ।

पछिल्ला केही वर्षयता नियमित रूपमा आयोजना हुँदै आएको गहवामाई रथयात्रा वीरगञ्जको प्रमुख धार्मिक तथा सांस्कृतिक पर्वका रूपमा स्थापित हुँदै गएको छ ।

आयोजकले यसले धार्मिक सद्भाव, सामाजिक एकता र सांस्कृतिक परम्पराको संरक्षणमा महत्वपूर्ण भूमिका खेलिरहेको जनाएको छ ।