मधेश प्रदेशको बजेट र आर्थिक विधेयक प्रदेश प्रमुखद्वारा प्रमाणीकरण

जनकपुरधाम, ३२ असार । मधेश प्रदेश प्रमुख डा. सुरेन्द्रप्र लाभ कर्णले मधेश प्रदेश सभाबाट पारित भएका आर्थिक वर्ष २०८३/८४ सँग सम्बन्धित दुई महत्वपूर्ण विधेयक प्रमाणीकरण गरेका छन् ।
प्रदेश प्रमुखको कार्यालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा २०१ को उपधारा (२) बमोजिम आर्थिक वर्ष २०८३/८४ को सेवा तथा कार्य सञ्चालनका लागि मधेश प्रदेश सञ्चित कोषबाट रकम विनियोजन तथा खर्च गर्ने सम्बन्धी विनियोजन विधेयक, २०८३ र मधेश प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक, २०८३ प्रमाणीकरण गरिएको हो ।
दुवै विधेयक असार ३२ गते प्रदेश प्रमुखबाट प्रमाणीकरण भएका हुन् । प्रदेश सभाले पारित गरी प्रमाणीकरणका लागि पठाएका यी विधेयक प्रमाणीकरण भएसँगै आगामी आर्थिक वर्षका लागि बजेट कार्यान्वयन र राजस्व तथा आर्थिक व्यवस्थासम्बन्धी कानुनी प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ ।


