रौतहटका उखु किसान आन्दोलित

रौतहट, ३२ असार । प्रशासनिक ढिलासुस्तीका कारण सरकारी उखु अनुदान गुम्ने अवस्था सिर्जना भएको भन्दै रौतहटका उखु किसान आन्दोलनमा उत्रिएका छन् ।
करिब ७ करोड रुपैयाँ बराबरको अनुदान भुक्तानी अनिश्चित बनेपछि किसानहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्डअन्तर्गत गरुडा नगरपालिका स्थित झाँझ पुलमा चार घण्टासम्म चक्काजाम गरेका हुन् ।
उखु उत्पादक किसान संघ रौतहटको नेतृत्वमा बुधबार साँझ भएको प्रदर्शनका क्रममा किसानहरूले टायर बालेर सडक अवरुद्ध गरेका थिए ।
सडक बन्द हुँदा गौर–चन्द्रनिगाहपुर सडकखण्डमा सवारी आवागमन केही घण्टा पूर्ण रूपमा प्रभावित भएको थियो ।
सरकारले उखु किसानलाई प्रतिक्विन्टल ७० रुपैयाँका दरले अनुदान उपलब्ध गराउने व्यवस्था गरे पनि अनुदान भुक्तानीका लागि आवश्यक सिफारिस असार मसान्तभित्र सम्बन्धित मन्त्रालयमा नपुग्दा रौतहटका किसान अनुदानबाट वञ्चित हुने जोखिममा परेका छन् ।
उखु उत्पादक किसान संघ रौतहटका अध्यक्ष अशोककुमार यादवका अनुसार जिल्लाका ४ हजार ७० जना किसानले पाउनुपर्ने करिब ७ करोड रुपैयाँ बराबरको अनुदान अझै रोकिएको छ ।
अन्य जिल्लाका किसानले अनुदान प्राप्त गरिसके पनि रौतहटमा जिल्ला प्रशासन कार्यालयबाट समयमै सिफारिस नहुँदा किसानहरू समस्यामा परेको उनले बताए ।
किसानहरूले सहायक प्रमुख जिल्ला अधिकारी तथा उखु किसान अनुदान सहजीकरण समितिका संयोजक जितेन्द्र यादवको लापरबाहीका कारण सिफारिस प्रक्रिया रोकिएको आरोप लगाएका छन् ।
प्रशासनको कमजोरीका कारण आफूहरू राज्यबाट पाउनुपर्ने सुविधा गुम्ने अवस्थामा पुगेको भन्दै उनीहरूले तत्काल समस्या समाधान गर्न माग गरेका छन् ।
यता, प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले सहजीकरण समितिबाट समयमै सिफारिस प्रक्रिया पूरा हुन नसक्दा समस्या उत्पन्न भएको स्वीकार गरेका छन् ।
मन्त्रालयसँग निरन्तर समन्वय भइरहेको र किसानले पाउनुपर्ने अनुदान सुनिश्चित गर्न आवश्यक प्रक्रिया अघि बढाइएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी भुसालले बिहीबारभित्र अनुदानसम्बन्धी प्रक्रिया टुंग्याउने प्रतिबद्धता जनाएपछि बुधबार राति करिब १० बजे किसानहरूले सडक अवरोध हटाएका थिए ।

