जनकपुरधाम, ३२ असार । मार्वल कम्पनीको ट्रेडमार्क दुरुपयोग गर्दै नक्कली पाइप उत्पादन तथा बिक्री–वितरण गरेको आरोपमा जनकपुरधामस्थित जानकी प्लास्टिक उद्योगका सञ्चालक नवकृष्ण मुरारका (नवल मुरारका) पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार मुरारकालाई बिहीबार जनकपुरधामस्थित उनको निवासबाट पक्राउ गरिएको हो ।

उनीमाथि मार्वल कम्पनीको आधिकारिक ट्रेडमार्कको अनधिकृत प्रयोग गरी नक्कली पाइप उत्पादन तथा बजारमा बिक्री–वितरण गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जनाएको छ ।

अनुसन्धानका क्रममा उत्पादन, वितरण सञ्जाल तथा यसमा संलग्न अन्य व्यक्तिहरूबारे पनि आवश्यक छानबिन अघि बढाइएको प्रहरीको भनाइ छ ।

यस विषयमा दोष पुष्टि भए प्रचलित कानुनबमोजिम आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।