मिटरब्याज पीडित आन्दोलनद्वारा औपचारिक वार्ता टोली गठन, लिखित सहमति नभएसम्म मार्च नरोकिने अडान

जनकपुरधाम, ३२ असार । सरकारसँग जारी वार्तालाई थप व्यवस्थित, प्रभावकारी र परिणाममुखी बनाउन मिटरब्याजविरुद्ध किसान मजदुर आन्दोलनले औपचारिक वार्ता टोली गठन गरेको छ ।
आन्दोलनका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहाको संयोजकत्वमा गठन गरिएको टोलीमा केन्द्रीय महासचिव मनोजकुमार पासमान, केन्द्रीय प्रवक्ता रिजन राना मगर, केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरे, केन्द्रीय हेडक्वार्टर सदस्य किरण परियार तथा संयुक्त जनअधिकार मोर्चाका केन्द्रीय अध्यक्ष निर्ग नवीन सदस्य रहेका छन् ।
अब सरकारसँग हुने सबै औपचारिक संवाद र वार्तामा यही टोलीले आन्दोलनरत पक्षको प्रतिनिधित्व गर्ने जनाइएको छ ।
मिटरब्याज पीडितहरूले असार २५ गतेदेखि जनकपुरधामबाट काठमाडौं केन्द्रित पैदल न्याय मार्च सुरु गरेका हुन् । मार्चका क्रममा सरकारसँग वार्ता जारी रहेकाले आन्दोलन हाल बाराको निजगढ क्षेत्रमा रोकिएको छ ।
हालसम्म गृहमन्त्री सुधन गुरुङको नेतृत्वमा सरकार र आन्दोलनरत पक्षबीच चार चरणको वार्ता सम्पन्न भइसकेको छ । तर, आन्दोलनले अघि सारेका ६ बुँदे मागलाई लिखित सहमतिमार्फत कार्यान्वयनको सुनिश्चितता गर्ने विषयमा सहमति जुट्न नसक्दा वार्ता निष्कर्षमा पुग्न सकेको छैन ।
आन्दोलनरत पक्षले गृहमन्त्रीले स्वीकार गरिसकेको ६ बुँदे सहमतिपत्रको मस्यौदालाई यथावत् हस्ताक्षर गरी कार्यान्वयनको स्पष्ट प्रतिबद्धता जनाउन सरकारसँग माग गरेको छ ।
लिखित सहमति नभएसम्म पैदल न्याय मार्च स्थगित नगर्ने र आवश्यक परे काठमाडौंतर्फको यात्रा पुनः अघि बढाइने चेतावनी पनि आन्दोलनले दिएको छ ।
आन्दोलनका नेताहरूले वार्तालाई निष्कर्षमा पुर्याउन सरकार गम्भीर बन्नुपर्ने बताउँदै मिटरब्याज पीडितको न्याय सुनिश्चित नभएसम्म आन्दोलन निरन्तर जारी रहने स्पष्ट पारेका छन् ।

