मधेश सरकारमा तत्काल फेरबदल नहुने दाबी, कांग्रेस नेतृत्वकै गठबन्धनले निरन्तरता पाउने

जनकपुरधाम, ३२ असार । केन्द्रमा नेपाली कांग्रेस र नेकपा एमालेबीचको सत्ता समीकरणमा फेरबदलको चर्चा चलिरहे पनि त्यसको प्रत्यक्ष असर मधेश प्रदेश सरकारमा तत्काल नपर्ने सत्तारुढ दलका नेताहरूले बताएका छन् ।
मधेश प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकारलाई निरन्तरता दिने सहमति भएको दाबी गरिएको छ ।
मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको सरकारमा सहभागी कांग्रेस, नेकपा एमाले र नेकपाका नेताहरूबीच छलफलपछि हालको गठबन्धनलाई कायम राख्ने समझदारी बनेको हो ।
मुख्यमन्त्री यादव, नेकपा एमाले मधेश प्रदेश संसदीय दलका नेता सरोजकुमार यादव र अर्थमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता युवराज भट्टराईबीच भएको छलफलमा प्रदेश सरकारको स्थायित्वबारे कुराकानी भएको बताइएको छ ।
गत जेठ १२ गते सरकार विस्तारका क्रममा तीन दलबीच निर्वाचनसम्मै गठबन्धनलाई निरन्तरता दिने गरी १५ बुँदे सहमति भएको थियो । सोही सहमतिअनुसार सरकार अगाडि बढ्ने नेताहरूको भनाइ छ ।
नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादवले प्रदेश तहमा गठबन्धनभित्र कुनै समस्या नरहेको भन्दै केन्द्रको राजनीतिक घटनाक्रमले मधेश सरकार प्रभावित नहुने बताए ।
उनले भने, ‘प्रदेशस्तरमा तीन दलबीच कुनै समस्या छैन । केन्द्रमा हुने राजनीतिक परिवर्तनलाई प्रदेशमा पनि लागू गर्नुपर्छ भन्ने अवस्था छैन । विगतमा पनि केन्द्र र प्रदेशमा फरक–फरक राजनीतिक अभ्यास भएका छन् ।’
यस्तै, नेकपा संसदीय दलका नेता एवं अर्थमन्त्री युवराज भट्टराईले मधेश प्रदेश सरकार अन्य प्रदेशभन्दा फरक परिस्थितिमा बनेकाले गठबन्धन कायम रहने दाबी गरे ।
उनका अनुसार हालै प्रदेश सरकारले ल्याएको बजेटसमेत सर्वसम्मत रूपमा पारित भएकाले सरकारलाई स्थिर रूपमा अघि बढाउने विषयमा छलफल भएको छ ।
‘मधेश प्रदेश सरकार विशेष परिस्थितिमा बनेको हो । अन्य प्रदेशको राजनीतिक प्रभावले यहाँको गठबन्धनमा असर पार्दैन,’ भट्टराईले बताए ।
गत मंसिर १९ गते कांग्रेस, जसपा नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीसहित ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा कृष्णप्रसाद यादव मुख्यमन्त्री बनेका थिए ।
हाल कांग्रेस, एमाले र नेकपाको समर्थनमा सञ्चालन भइरहेको मधेश प्रदेश सरकारलाई आगामी निर्वाचनसम्म निरन्तरता दिने सत्तारुढ दलका नेताहरूको दाबी छ ।

