सिरहामा कटुवा पेस्तोल र ब्राउन सुगरसहित दुई जना पक्राउ

सिरहा, ३२ असार । सिरहामा प्रहरीले छुट्टाछुट्टै कारबाही गर्दै कटुवा पेस्तोल, गोली र ब्राउन सुगर जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
दुवै घटनामा पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पहिलो घटनामा बुधबार साँझ इलाका प्रहरी कार्यालय माडरबाट खटिएको प्रहरी टोलीले सिरहा नगरपालिका–१७ क्षेत्रमा गस्ती गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेका सिन्धुलीको कमलामाई नगरपालिका–६ निवासी ४४ वर्षीय महेशकुमार थापामाथि शङ्का लागेपछि शरीर खानतलासी गरेको थियो ।
खानतलासीका क्रममा उनको पाइन्टको बायाँ खल्तीबाट प्लास्टिकबाहेक करिब ९ ग्राम ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद भएको प्रहरीले जनाएको छ । उनलाई नियन्त्रणमा लिएर लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ ।
यस्तै, बिहीबार बिहान विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले सिराहा नगरपालिका–७ अन्तर्गत हुलाकी सडकको भित्री बाटो हुँदै सिरहा बजारतर्फ आइरहेको भारतीय नम्बर प्लेटको बीआर०७एजी ४२१५ नम्बरको मोटरसाइकल रोकी जाँच गरेको थियो ।
जाँचका क्रममा मोटरसाइकलको ह्यान्डलमा झुन्ड्याइएको नाइलनको झोलाभित्र आलु, प्याज तथा अन्य तरकारीबीच लुकाएर राखिएको अवस्थामा एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोली फेला परेको प्रहरीले जनाएको छ ।
घटनामा भारतको बिहार राज्य, मधुवनी जिल्ला, रामनगर ग्राम पञ्चायत पटबारा–८ सहर्वा निवासी २६ वर्षीय रोशनकुमार यादवलाई हतियार र मोटरसाइकलसहित पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार दुवै घटनामा पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखी लागूऔषध तथा हतियार सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ ।

