धनुषामा एकैदिन १४ जना फरार प्रतिवादी पक्राउ

जनकपुरधाम, ३१ असार । जिल्ला प्रहरी कार्यालय धनुषाले फैसला कार्यान्वयन अभियानलाई तीव्र बनाउँदै एकैदिन १४ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार धनुषा जिल्ला अदालतबाट विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका प्रतिवादीहरूलाई खोजतलास गरी मङ्गलबार पक्राउ गरिएको हो ।
पक्राउ परेका सबैलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी धनुषा जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये हातहतियार तथा खरखजाना, ज्यान मार्ने उद्योग, चोरी, सवारी ज्यान, लागूऔषध, मोटरसाइकल चोरी तथा जबरजस्ती करणीजस्ता मुद्दाका प्रतिवादी रहेका छन् ।
उनीहरूमध्ये केहीलाई ७ दिनदेखि ४ वर्षसम्म कैद सजाय तथा केहीलाई १ हजारदेखि १७ हजार रुपैयाँसम्म जरिवाना तोकिएको थियो ।
केही प्रतिवादीमाथि जरिवाना मात्र र केहीमाथि कैद सजाय मात्र कायम रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादी पक्राउ अभियान निरन्तर सञ्चालन भइरहेको बताए ।
उनले अदालतबाट सजाय तोकिएर फरार रहेका व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउने कार्य आगामी दिनमा पनि निरन्तर जारी रहने जानकारी दिए ।
धनुषा प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्राथमिकतामा राख्दै फरार प्रतिवादीको खोजी र पक्राउ अभियानलाई थप सशक्त बनाउने जनाएको छ ।

