जनकपुरधाम, ३१ असार । जनकपुरधामस्थित पूर्वाधार विकास कार्यालय धनुषामा ठेक्का व्यवस्थापन र कागजात तयारीमा भएको लापरवाही तथा अनियमितताको आरोप लगाउँदै निर्माण व्यवसायीहरूले कार्यालयको लेखा शाखामा तालाबन्दी गरेका छन् ।

बुधबार कार्यालय पुगेका निर्माण व्यवसायीहरूले विकास आयोजनासँग सम्बन्धित ठेक्का प्रक्रियामा आवश्यक कागजात र अभिलेख व्यवस्थित रूपमा तयार नगरिएको आरोप लगाएका छन् ।

उनीहरूका अनुसार कार्यालयका केही कर्मचारीको लापरवाही र आर्थिक चलखेलका कारण ठेक्का प्रक्रियामा गम्भीर त्रुटि देखिएको छ । यसको प्रत्यक्ष असर विशेषगरी साना निर्माण व्यवसायीहरूमा परेको छ ।

निर्माण व्यवसायीहरूले त्रुटिपूर्ण प्रशासनिक कार्यशैलीका कारण भुक्तानी प्रक्रिया प्रभावित भएको, अनावश्यक झन्झट बेहोर्नुपरेको तथा आर्थिक क्षति व्यहोर्न बाध्य भएको बताएका छन् ।

आफ्ना मागप्रति कार्यालय प्रशासनको ध्यानाकर्षण गराउन व्यवसायीहरूले लेखा शाखामा तालाबन्दी गर्दै दोषी कर्मचारीमाथि निष्पक्ष छानबिन गर्न, भएका त्रुटि तत्काल सच्याउन तथा पीडित निर्माण व्यवसायीहरूको समस्या शीघ्र समाधान गर्न माग गरेका छन् ।

उनीहरूले कार्यालय प्रशासनले समयमै आवश्यक पहल नगरे आन्दोलनलाई थप सशक्त बनाइने चेतावनीसमेत दिएका छन् ।

यता, घटनाबारे पूर्वाधार विकास कार्यालय धनुषाको आधिकारिक प्रतिक्रिया आउन बाँकी रहेको छ ।