रौतहट, ३१ असार । रौतहटको ईशनाथ नगरपालिका–४ ठुलो लचमरीस्थित मठिया माध्यमिक विद्यालय परिसरको माछा पोखरीमा हाम फालेर बेपत्ता भएका एक भारतीय युवक बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार मंगलबार राति करिब ९:३० बजे युवकले पोखरीमा हाम फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

त्यसलगत्तै प्रहरी चौकी मठिया र सशस्त्र प्रहरी बल औरैयाको संयुक्त टोलीले रातभर खोजी अभियान सञ्चालन गरेको थियो ।

खोजीका क्रममा बुधबार बिहान पोखरीबाट शव निकालिएको प्रहरीले जनाएको छ ।

मृतकको पहिचान भारतको बिहार राज्य, पूर्वी चम्पारण (मोतिहारी) जिल्ला, ढाका ग्राम पञ्चायत–३० निवासी लाल मोहम्मदका २३ वर्षीय छोरा मोहम्मद वजिरका रूपमा भएको छ ।

प्रहरीले शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाएको छ ।

युवकले पोखरीमा हाम फाल्नुको कारण खुल्न नसकेको र घटनाबारे आवश्यक अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।