सर्लाही, ३१ असार । सर्लाहीको सीमावर्ती क्षेत्रमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक भारतीय किसानको मृत्यु भएको छ ।

जिल्लाको बलरा नगरपालिका–१ हथियौलस्थित खेतमा पानी लगाउने क्रममा भारतको बिहार राज्य, सितामढी जिल्ला श्रीनगर निवासी ५० वर्षीय अरविन्दकुमार सिंहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

अरविन्दकुमारले हथियौलका सुरेन्द्रप्रसाद सिंहको बटैया खेत कमाउँदै आएका थिए ।

मंगलबार राति सिँचाइ गर्न नेपालतर्फको खेतमा आएका बेला करेन्ट लागेर उनको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घटनापछि मृतकको शव परिवारका सदस्यले बुधबार बिहान घर लगेको र त्यसपछि मात्र प्रहरीलाई जानकारी प्राप्त भएको थियो ।

सूचना प्राप्त हुनासाथ प्रहरी चौकी छन्कीटोला र इलाका प्रहरी कार्यालय गडहियाबाट खटिएको टोलीले घटनास्थल तथा मृतकको घरमा पुगेर आवश्यक अनुसन्धान अघि बढाएको थियो ।

प्रहरीले कानुनी प्रक्रिया पूरा गरी शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाएको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमका अनुसार मृतकलाई राति ठ्याक्कै कुन समयमा करेन्ट लागेको हो भन्ने अझै खुल्न सकेको छैन ।

घटनाको कारण र करेन्ट कसरी लाग्यो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।