महोत्तरी, ३१ असार । महोत्तरी गाउँपालिकालाई औपचारिक रूपमा साक्षर गाउँपालिका घोषणा गरिएको छ ।

गाउँपालिकाले आयोजना गरेको विशेष कार्यक्रममा प्रदेश सभा सदस्य सुरिता साहले गाउँपालिकालाई साक्षर घोषणा गर्नु उपलब्धि मात्र नभई शिक्षाको गुणस्तर सुधारतर्फ थप जिम्मेवारीको शुरुवात भएको बताइन् ।

प्रमुख अतिथिको रूपमा बोल्दै सांसद साहले साक्षरता अभियानलाई निरन्तरता दिँदै बालबालिका, महिला तथा पिछडिएका समुदायलाई गुणस्तरीय शिक्षामा पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइन् ।

उनले शिक्षालाई समृद्ध समाज निर्माणको आधार भन्दै स्थानीय तह, विद्यालय, अभिभावक र समुदायबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा व्यक्त गरिन् ।

सांसद साहले शिक्षा क्षेत्रको विकासलाई प्राथमिकतामा राखेर स्थानीय तहले त्यसको प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताइन् ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष दिलीप पाण्डेले महोत्तरी गाउँपालिकालाई साक्षर घोषणा गर्न स्थानीय जनप्रतिनिधि, शिक्षक, विद्यार्थी, अभिभावक तथा सरोकारवालाको संयुक्त प्रयासले सफलता मिलेको बताए ।

उनले साक्षर घोषणा अन्तिम उपलब्धि नभई शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने अभियानको शुरूवात भएको उल्लेख गर्दै विद्यालय बाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउने, विद्यालय छाड्ने दर घटाउने तथा आधुनिक र सीपमूलक शिक्षामा जोड दिने नीति गाउँपालिकाले अघि बढाएको जानकारी दिए ।

अध्यक्ष पाण्डेले गाउँपालिकाले आगामी दिनमा शिक्षाको गुणस्तर सुधार, विद्यालयको भौतिक पूर्वाधार विकास, सूचना प्रविधिमैत्री शिक्षण प्रणाली विस्तार तथा शिक्षकको क्षमता अभिवृद्धिमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा जनप्रतिनिधि, शिक्षा क्षेत्रसँग सम्बन्धित सरोकारवाला, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा साक्षरता अभियानमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो ।