रौतहट, ३१ असार । जिल्ला प्रहरी कार्यालय रौतहटले फरार प्रतिवादी पक्राउ विशेष अभियानलाई तीव्र बनाउँदै एकै दिन ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विभिन्न मुद्दामा जिल्ला अदालत रौतहटबाट कैद तथा जरिवाना सजाय तोकिएपछि लामो समयदेखि फरार रहेका उनीहरूलाई मंगलबार जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी युनिटहरूले संयुक्त रूपमा सञ्चालन गरेको अभियानमा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार पक्राउ परेकामध्ये विषुन्द्र साह, विवेक मणि यादव, विकास कुमार, आशनारायण साह र रतेश कुमार मिश्र चेक अनादर मुद्दाका फरार प्रतिवादी हुन् ।

यस्तै, चोरी तथा डाँका सम्बन्धी मुद्दामा दोषी ठहर भएका अन्य प्रतिवादीहरू पनि पक्राउ परेका छन् ।

प्रहरीका अनुसार पक्राउ परेका प्रतिवादीहरूलाई अदालतले तोकेको करिब २ वर्ष कैद सजाय कार्यान्वयन तथा २७ हजार रुपैयाँ जरिवाना असुलउपरका लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको छ ।

जिल्ला प्रहरी कार्यालयले फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।