रौतहटमा युवकद्वारा आत्मदाहको प्रयास

रौतहट, ३१ असार । रौतहटको गरुडा नगरपालिकामा एक युवकले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गरुडा नगरपालिका–९ गम्हरियाका २८ वर्षीय गौतमकुमार सहनीले मंगलबार राति करिब १ बजे आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।
घटनापछि परिवार तथा स्थानीयवासीको सहयोगमा उनलाई तत्काल गरुडास्थित अस्पतालमा उपचारका लागि लगिएको थियो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बसन्त गौतमका अनुसार सहनीको घाँटीदेखि तलसम्म करिब ३१ प्रतिशत शरीर जलेको छ । हाल उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक उपचारपछि उनलाई थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल रिफर गरिएको छ ।
आत्मदाह प्रयासको कारण भने हालसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

