छिन्नमस्ता शक्तिपीठ जाने सडक जीर्ण, गाउँपालिकाद्वारा तत्काल मर्मतको माग

सप्तरी, ३० असार । सप्तरीको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य छिन्नमस्ता शक्तिपीठ जाने पहुँचमार्ग जीर्ण बन्दै गएपछि छिन्नमस्ता गाउँपालिकाले सडक डिभिजन कार्यालय लहानको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले सडक डिभिजन कार्यालयलाई पत्राचार गर्दै करिब तीन दशकदेखि निर्माण प्रक्रियामै अल्झिएको उक्त सडकको तत्काल मर्मत सम्भार गरी स्थायी निर्माण कार्य अघि बढाउन आग्रह गरेका छन् ।
गाउँपालिकाका अनुसार छिन्नमस्ता शक्तिपीठमा नेपाल र भारतबाट प्रत्येक वर्ष २५ देखि ३० लाखसम्म श्रद्धालु दर्शनका लागि पुग्ने गर्छन् ।
तर, सडकको दयनीय अवस्थाका कारण यात्रुहरूले सास्ती खेप्नुका साथै दुर्घटनाको जोखिम पनि बढ्दै गएको छ । यसले स्थानीय व्यापार, कृषि तथा सेवा प्रवाहसमेत प्रभावित भएको गाउँपालिकाको भनाइ छ ।
वर्षायामसँगै सडकमा बनेका खाल्डाखुल्डी र हिलोका कारण आवागमन थप कठिन र जोखिमपूर्ण बनेको उल्लेख गर्दै गाउँपालिकाले तत्काल ग्राभेलिङ, ढल निकासको उचित व्यवस्था तथा आवश्यक मर्मत कार्य गर्न माग गरेको छ ।
अध्यक्ष चौधरीले सार्वजनिक सुरक्षालाई प्राथमिकतामा राख्दै प्रशासनिक तथा प्राविधिक प्रक्रिया शीघ्र टुंग्याएर नयाँ ठेक्कामार्फत स्थायी सडक निर्माण सुरु गर्न सडक डिभिजन कार्यालयसँग अनुरोध गरेका छन् ।
गाउँपालिकाले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय जनजीवन सहज बनाउन सडकको स्तरोन्नति अपरिहार्य रहेको समेत जनाएको छ ।

