जनकपुरधाम, ३० असार । धनुषा प्रहरीले विभिन्न मुद्दामा अदालतबाट कैद तथा जरिवाना सजाय सुनाइएपछि फरार रहेका ८ जना प्रतिवादीलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जिल्ला अदालत धनुषाको फैसला कार्यान्वयन अभियानअन्तर्गत फरार प्रतिवादीहरूको खोजतलास गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकाहरूलाई आवश्यक कानुनी कारबाहीका लागि जिल्ला अदालत धनुषामा पेश गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये चोरी मुद्दाका दुई जना प्रतिवादीलाई एक/एक महिना कैद र जनही एक लाख ४० हजार रुपैयाँ जरिवाना सजाय तोकिएको थियो ।

लागूऔषध सम्बन्धी मुद्दाका एक जनालाई सात दिन कैद र ७ सय रुपैयाँ जरिवाना तथा अर्को एक जनालाई २८ दिन कैद सजाय तोकिएको थियो ।

यस्तै, सवारी ज्यान मुद्दाका तीन जना प्रतिवादीलाई क्रमशः १३ दिन, १५ दिन र ९ दिन कैद तथा जनही २ हजार रुपैयाँ जरिवाना सजाय सुनाइएको थियो ।

वन पैदावर ओसारपसार मुद्दाका दुई जनालाई जनही ९६ हजार २९७ रुपैयाँ जरिवाना तोकिएको थियो भने कुटपिट तथा लुटपिट मुद्दाका प्रतिवादीहरूलाई जनही ३ हजार रुपैयाँ जरिवाना सजाय भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीले अदालतको फैसला कार्यान्वयनलाई प्रभावकारी बनाउन फरार प्रतिवादीको खोजी तथा पक्राउ अभियानलाई निरन्तरता दिइने जनाएको छ ।