रौतहट, ३० असार । रौतहट जिल्ला अदालतका डिठ्ठा लवकुमार सिंह घुस लिएको अभियोगमा दोषी ठहर भएका छन् ।

विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले मंगलबार सिंहलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै एक महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार रोक्का रहेको जग्गा फुकुवा गराइदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा सिंहलाई गत चैत १७ गते रंगेहात पक्राउ गरिएको थियो ।

घटनापछि आयोगले अनुसन्धान पूरा गरी वैशाख २१ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

विशेष अदालतले अख्तियारले पेस गरेको प्रमाणका आधारमा सिंहलाई दोषी ठहर गर्दै कैद र जरिवानाको फैसला गरेको हो ।