महोत्तरीमा गोली हानी डकैती गर्ने तीन पक्राउ

जनकपुरधाम, ३० असार । महोत्तरीको सोनमा गाउँपालिका–३ खखनामा गत जेठ २० गते पतिपत्नीमाथि गोली प्रहार गरी डकैती गरेको घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सम्सी गाउँपालिका–६ निवासी २१ वर्षीय अपरोज शेष, २४ वर्षीय शेष बारिक तथा गौशाला नगरपालिका–५ का क्रिशकुमार मेस्तर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले मंगलबार पत्रकार सम्मेलन गर्दै उनीहरूलाई सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार पक्राउ परेकासहितको डाँका समूहले स्थानीय रामविश्वास यादवको घरमा राति प्रवेश गरी लुटपाट गर्ने क्रममा घरमा सुतिरहेका उनकी छोरी किरण यादव र ज्वाइँ ईश्वरनारायण यादवमाथि गोली प्रहार गरेको थियो ।
घटनामा किरण यादवको खुट्टामा दुई गोली लागेको थियो भने ईश्वरनारायण यादवको दाहिने हातमा एक गोली लागेको थियो ।
घाइते दुवै जनाको उपचारपछि स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा प्रयोग भएका हतियार तथा अन्य प्रमाणका विषयमा अनुसन्धान जारी रहेको जनाएको छ ।
साथै, घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी तीव्र पारिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ ।

