अन्नपूर्ण चिनी मिलका दुई सञ्चालक पक्राउ

सर्लाही, ३० असार । सर्लाहीको धनकौलमा रहेको अन्नपूर्ण चिनी मिलका दुई सञ्चालकलाई उखु किसानको भुक्तानी नदिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मिलका सञ्चालक शैलेन्द्र गुप्ता र विनोद साह कलवार रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले उखु किसानहरूको उजुरीका आधारमा गत बिहीबार उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डीएसपी वेदप्रसाद गौतमका अनुसार किसानहरूको करोडौँ रुपैयाँ बराबरको उखुको मूल्य लामो समयदेखि भुक्तानी नगरेको भन्दै परेको उजुरीपछि ठगीसम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको हो ।
प्रहरीका अनुसार मिलले उखु खरिद गरे पनि वर्षौंदेखि भुक्तानी नगर्दा हजारौँ किसान आर्थिक रूपमा प्रभावित भएका छन् ।
बक्यौता रकम नपाउँदा खेतीपाती सञ्चालन गर्नसमेत समस्या भएको भन्दै किसानहरूले कानुनी कारबाहीको माग गरेका थिए ।
प्रहरीले पक्राउ परेका दुवै जनामाथि ठगीसम्बन्धी कसुरमा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ ।

