जनकपुरधाम, ३० असार । जनकपुरधामस्थित ऐतिहासिक विवाह मण्डप र जानकी मन्दिर परिसरभित्र रहेको संग्रहालय (म्युजियम) मंगलबार बन्द गरिएको छ ।

मधेश प्रदेशका गृहमन्त्री फकीरा महतोले सम्बन्धित प्रशासनसँग कुनै परामर्श नगरी दुवै स्थलमा निःशुल्क प्रवेश लागू गर्न निर्देशन दिएको भन्दै विरोधस्वरूप विवाह मण्डप तथा संग्रहालय प्रशासनले ताला लगाएका हुन् ।

प्रशासनका अनुसार प्रवेश शुल्क हटाउने निर्णय एकपक्षीय रूपमा गरिएको र त्यसबाट संस्थाको दैनिक सञ्चालन तथा व्यवस्थापनमा प्रत्यक्ष असर पर्ने भएकाले विरोधस्वरूप सेवा बन्द गरिएको हो ।

उनीहरूले सम्बन्धित पक्षसँग आवश्यक छलफल र सहमति बिना गरिएको निर्णय स्वीकार्य नहुने बताएका छन् ।

विवाह मण्डप र संग्रहालय बन्द भएपछि अवलोकनका लागि पुगेका आन्तरिक तथा बाह्य पर्यटक तथा दर्शनार्थीहरू प्रभावित भएका छन् । प्रवेशद्वारमा ताला लगाइएपछि उनीहरू फर्किन बाध्य भएका छन् ।

यस विषयमा गृहमन्त्री महतो वा प्रदेश सरकारको आधिकारिक धारणा भने सार्वजनिक भएको छैन । प्रशासनले वार्ता र सहमतिका आधारमा समाधान ननिस्किएसम्म आन्दोलनका थप कार्यक्रम घोषणा गर्न सकिने जनाएको छ ।

जनकपुरधामको विवाह मण्डप र जानकी मन्दिर परिसरस्थित संग्रहालय धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण पर्यटकीय सम्पदा मानिन्छन् । यहाँ दैनिक रूपमा स्वदेशी तथा विदेशी पर्यटकको उल्लेख्य आवागमन हुने गर्दछ ।