कर्मचारीमाथि कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापनपत्र

महोत्तरी, २९ असार । महोत्तरीको एकडारा गाउँपालिकामा सम्पन्न विकास निर्माण योजनाको भुक्तानी रोकिएको भन्दै उपभोक्ता समिति र निर्माण व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा तीनबुँदे मागपत्र बुझाएका छन् ।
आर्थिक वर्ष २०८२/८३ अन्तर्गत सञ्चालन भएका विभिन्न योजना सम्पन्न भइसके पनि भुक्तानी प्रक्रिया अघि नबढेको भन्दै उनीहरूले प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवसमक्ष तत्काल पहल गर्न माग गरेका हुन् ।
संयुक्त उपभोक्ता समिति तथा निर्माण व्यवसायीहरूको तर्फबाट बुझाइएको ज्ञापनपत्रमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीसहित योजना शाखा प्रमुख बिरेन्द्र मण्डल, प्राविधिक शाखा प्रमुख रोहितकुमार झा र लेखा शाखा प्रमुख निरज चौधरी आर्थिक वर्षको अन्तिम समयमा कार्यालयमा अनुपस्थित रहेको आरोप लगाइएको छ ।
कार्यालयका जिम्मेवार कर्मचारीहरू सम्पर्कविहीन हुँदा सरकारी प्रक्रिया प्रभावित भएको र त्यसका कारण करोडौँ रुपैयाँ बराबरको भुक्तानी रोकिएको दाबी उनीहरूको छ ।
सरकारी मोबाइलसमेत बन्द गरेर जिम्मेवारीबाट पन्छिएको आरोप लगाउँदै उनीहरूले यस विषयमा छानबिन गरी आवश्यक कारबाही गर्न माग गरेका छन् ।
ज्ञापनपत्रमा उपभोक्ता समिति र निर्माण व्यवसायीमार्फत सञ्चालन भएका अधिकांश विकास योजनाको काम सम्पन्न गरी नियमानुसार कार्य सम्पन्न प्रतिवेदनसमेत बुझाइसकेको उल्लेख छ । तर, भुक्तानी नहुँदा निर्माण व्यवसायी तथा उपभोक्ता समितिहरू आर्थिक समस्यामा परेको उनीहरूको भनाइ छ ।
भुक्तानीको माग गर्दै असार २६ गतेदेखि गाउँपालिकामा तालाबन्दीसमेत गरिएको जनाइएको छ ।
उनीहरूले प्रमुख जिल्ला अधिकारीसमक्ष तीन वटा माग राखेका छन् । जसमा बाँकी सबै भुक्तानी प्रक्रिया पूरा नभएसम्म प्रमुख प्रशासकीय अधिकृतको सरुवा वा रमाना रोक्नुपर्ने, आर्थिक वर्षको अन्तिम समयमा कार्यालय छाडेको आरोप लागेका कर्मचारीमाथि विभागीय तथा कानुनी कारबाही गर्नुपर्ने र जिल्ला प्रशासनको पहलमा रोकिएको भुक्तानी तत्काल निकासा हुने वातावरण बनाउनुपर्ने रहेका छन् ।
मागपत्र बुझाउने पक्षले माग सम्बोधन नभए थप संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् ।
ज्ञापनपत्रको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, हेलो सरकार, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रमासमेत पठाइएको जनाइएको छ ।

