धनुषामा बढ्दै चैते धानको आकर्षण

जनकपुरधाम, २९ असार । धनुषा जिल्लाका विभिन्न स्थानीय तहमा पछिल्ला वर्षहरूमा चैते धान खेती गर्ने किसानको संख्या उल्लेख्य रूपमा बढ्दै गएको छ ।
राम्रो उत्पादन, वर्षमा तीन बाली लिन सकिने सम्भावना तथा सरकारी र विकास साझेदार संस्थाबाट बीउ, प्रविधि र तालिममा सहयोग प्राप्त हुन थालेपछि किसानहरू चैते धान खेतीतर्फ आकर्षित भएका हुन् ।
लक्ष्मीनियाँ गाउँपालिकाका किसान रामबाबु महतोले चैते धानबाट राम्रो उत्पादन हुने भएकाले यसको खेती विस्तार हुँदै गएको बताए ।
उनका अनुसार एक कट्ठा जमिनबाट तीनदेखि पाँच मनसम्म धान उत्पादन हुने भएकाले अन्य बालीभन्दा चैते धान बढी लाभदायक देखिएको छ ।
धनुषाका सुक्खाग्रस्त तथा बाढी प्रभावित वटेश्वर र जनकनन्दनी गाउँपालिकामा सङ्घीय सरकारअन्तर्गत सञ्चालित खाद्य तथा पोषण सुरक्षा सुधार आयोजनाले चैते धान प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेपछि किसानको सहभागिता उल्लेख्य रूपमा बढेको छ ।
किसान सुरेश यादवका अनुसार आयोजनाबाट प्राप्त सहयोगले खेतीप्रति नयाँ उत्साह थपिएको छ ।
विश्व बैंक तथा विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको सहयोगमा सञ्चालन भइरहेको उक्त कार्यक्रममार्फत साना तथा न्यून आय भएका किसानलाई उन्नत जातको बीउ, आधुनिक खेती प्रविधि, सिँचाइ सामग्री तथा आवश्यक तालिम उपलब्ध गराइएको छ ।
स्थानीय किसान राजेश मण्डलले यस्ता सुविधाले खेतीको लागत घट्नुका साथै उत्पादन वृद्धि भएको बताए ।
वटेश्वर गाउँपालिकाका किसान महेन्द्र महतोका अनुसार गाउँपालिकामा मात्रै करिब १४० बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ ।
हर्दिनाथ–१, २ र ३ जातका बीउ ८५ प्रतिशत अनुदानमा उपलब्ध भएपछि अधिकांश किसानले चैते धान खेती सुरु गरेका छन् ।
किसान शिवनाथ साहले समयमा मल, बीउ र सिँचाइको सहज व्यवस्था भए मुलुकलाई धान तथा चामल उत्पादनमा आत्मनिर्भर बनाउन सकिने विश्वास व्यक्त गरे ।
खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना समूह एकाइ धनुषाका कृषि अधिकृत शिवचन्द्र झाले कार्यक्रम सञ्चालन गरिएका दुई पालिकामा हाल करिब १५० बिघा क्षेत्रफलमा चैते धान खेती भइरहेको जानकारी दिए । उनका अनुसार किसानको उत्साहसँगै खेती विस्तार हुने क्रम अझै जारी छ ।
समूह एकाइ प्रमुख रविलाल शर्माले साना तथा न्यून आय भएका किसानको खाद्य सुरक्षा, पोषण सुधार, कृषि उत्पादन वृद्धि र बजारीकरणलाई टेवा पुर्याउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको बताए ।
यसले किसानको आयआर्जन बढाउनुका साथै कृषि क्षेत्रलाई व्यावसायिक बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको उनको भनाइ छ ।
यता, कृषि ज्ञान केन्द्र धनुषाका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा जिल्लाभर ८५० हेक्टर क्षेत्रफलमा चैते धान खेती गरिएको छ ।
उक्त क्षेत्रबाट तीन हजार ३३२ मेट्रिक टन धान उत्पादन भएको छ भने प्रतिहेक्टर औसत उत्पादकत्व तीन दशमलव ९२ मेट्रिक टन पुगेको केन्द्रका प्रमुख प्रदीपकुमार यादवले जानकारी दिए ।
कृषि ज्ञान केन्द्रले आगामी आर्थिक वर्षमा पनि चैते धान खेतीको क्षेत्र विस्तार गर्दै उत्पादन वृद्धि गर्न आवश्यक प्राविधिक सहयोग, उन्नत बीउ तथा प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ ।

