महोत्तरीको भंगहामा कष्टम हायरिङ सेन्टर सञ्चालन

महोत्तरी, २९ असार । कृषिमा यान्त्रीकीकरणलाई प्रवर्द्धन गर्दै उत्पादन लागत घटाउने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिकामा कष्टम हायरिङ सेन्टर सञ्चालनमा ल्याइएको छ ।
आधुनिक कृषि उपकरण भाडामा उपलब्ध गराएर किसानलाई सहज सेवा दिने लक्ष्यसहित सेन्टर स्थापना गरिएको हो ।
नेपाल सरकारको राष्ट्रिय गौरवको योजना अन्तर्गत सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई धनुषाको ५० प्रतिशत अनुदान र कृषक समूहको ५० प्रतिशत लगानीमा ५८ लाख २३ हजार रुपैयाँको लागतमा सेन्टर स्थापना गरिएको हो ।
सेन्टरको सञ्चालन भंगहा नगरपालिका–४ रामनगरस्थित २५ जना महिला आबद्ध रहेको पञ्चधुरा महिला कृषक समूहले गर्नेछ ।
समूहकी अध्यक्ष पुनिता कुमारी महतोका अनुसार सेन्टरबाट समूहका सदस्यहरूले करिब ५० बिघा खेतीयोग्य जमिनमा आधुनिक उपकरणमार्फत खेती गर्न सक्नेछन् ।
साथै, भंगहा नगरपालिकाका अन्य किसानलाई समेत सहुलियत दरमा कृषि उपकरण उपलब्ध गराइनेछ ।
वडाध्यक्ष गणेश कुमार महतोले कष्टम हायरिङ सेन्टरबाट सयौं बिघा जमिनमा आधुनिक प्रविधिबाट खेती गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनका अनुसार यसले खेतीपातीलाई समयमै सम्पन्न गर्न र उत्पादन वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्नेछ ।
परियोजनाका कृषि अधिकृत राकेश कुमार यादवले ग्रामीण क्षेत्रमा कृषि मजदुरको अभाव र वैदेशिक रोजगारीका कारण खेतीपाती प्रभावित भइरहेका बेला यस्ता कृषि उपकरणले किसानको समय, श्रम र उत्पादन लागत उल्लेखनीय रूपमा घटाउने बताए ।
परियोजनाका प्रमुख रामसोगारथ साहका अनुसार सेन्टरमा दुईवटा ट्र्याक्टर, दुई थ्रेसर, दुई रोटाभेटर, दुई रिपर, ट्र्याक्टरबाट सञ्चालन हुने दुई चाफ कटर, एक लेभलर, दुई कल्टिभेटर र एक टिलर उपलब्ध छन्। आवश्यकताअनुसार किसानले यी उपकरण भाडामा लिएर प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
उद्घाटन कार्यक्रममा मधेश प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. सजय कुमार यादवले कृषि क्षेत्रको आधुनिकीकरणका लागि कष्टम हायरिङ सेन्टर प्रभावकारी माध्यम भएको बताए ।
यस्ता केन्द्रको प्रभावकारी सञ्चालनले उत्पादन बढ्नुका साथै खेतीको लागत घट्ने उल्लेख गर्दै उनले प्रदेशका अन्य स्थानीय तहमा समेत यस्ता केन्द्र विस्तार गर्न आवश्यक रहेको धारणा व्यक्त गरे ।

