रौतहटका पत्रकार प्रिमेश शिवाकोटीको निधन

रौतहट, २९ असार । अन्नपूर्ण पोस्ट दैनिकका रौतहट संवाददाता तथा नेपाल प्रेस युनियन रौतहटका अध्यक्ष प्रिमेश शिवाकोटीको सोमबार बिहान उपचारका क्रममा निधन भएको छ । उनी ३६ वर्षका थिए ।
चन्द्रपुर नगरपालिका–७ निवासी शिवाकोटी विगत केही समयदेखि मृगौलासम्बन्धी समस्याबाट पीडित थिए ।
उनको चितवनस्थित नेशनल मेडिकल कलेजमा उपचार भइरहेको थियो । उपचारकै क्रममा सोमबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
शिवाकोटी लामो समयदेखि पत्रकारितामा सक्रिय रहँदै रौतहटका विभिन्न समसामयिक विषय, सामाजिक सरोकार र जनचासोका समाचार सम्प्रेषण गर्दै आएका थिए ।
उनी नेपाल प्रेस युनियन रौतहटका अध्यक्षका रूपमा पनि क्रियाशील थिए ।
उनको असामयिक निधनले रौतहटको सञ्चार क्षेत्रलाई ठूलो क्षति पुगेको भन्दै पत्रकार, सञ्चारकर्मी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले दुःख व्यक्त गरेका छन् ।
स्वर्गीय शिवाकोटीका श्रीमती र एक छोरी छन् ।

