महोत्तरी, २९ असार । महोत्तरी जिल्लामा यस वर्षको मनसुन अपेक्षाअनुसार सक्रिय हुन नसक्दा धान रोपाइँको काम निकै सुस्त देखिएको छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका अनुसार असार २६ गतेसम्म जिल्लामा कुल अनुमानित ४० हजार हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १० हजार १ सय ५८ हेक्टर अर्थात् २५.३९ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको छ । अझै २९ हजार ८ सय ४२ हेक्टर (७४.६१ प्रतिशत) क्षेत्रमा रोपाइँ हुन बाँकी रहेको छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीले कृषि विकास निर्देशनालय धनुषालाई पठाएको प्रगति विवरणअनुसार जिल्लाका अधिकांश स्थानीय तहमा पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँलाई तीव्रता दिन सकेका छैनन् ।

कतिपय स्थानमा सिँचाइको सुविधा भएका क्षेत्रमा मात्रै रोपाइँ अघि बढेको छ भने वर्षामा निर्भर किसान अझै आकाशतर्फ हेरेर बस्न बाध्य छन् ।

तथ्यांकअनुसार सबैभन्दा बढी प्रगति बलवा नगरपालिका र औरही नगरपालिकामा भएको छ । यी दुवै स्थानीय तहमा अनुमानित क्षेत्रफलको ५० प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ ।

बलवामा ३ हजार ४ सय १५ हेक्टरमध्ये १ हजार ७ सय ७.५ हेक्टर तथा औरहीमा २ हजार ३ सय ५० हेक्टरमध्ये १ हजार १ सय ७५ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ ।

त्यसैगरी, महोत्तरी गाउँपालिकामा ४५ प्रतिशत, सम्सी गाउँपालिका र गौशाला नगरपालिकामा ३५–३५ प्रतिशत, लोहारपट्टी नगरपालिका र सोनमा गाउँपालिकामा २५–२५ प्रतिशत तथा बर्दिवास नगरपालिकामा २२ प्रतिशत क्षेत्रमा धान रोपिएको छ ।

यस्तै, रामगोपालपुर नगरपालिका र भंगहा नगरपालिकामा २०–२० प्रतिशत, पिपरा गाउँपालिकामा १२ प्रतिशत, जलेश्वर नगरपालिका तथा एकडारा गाउँपालिकामा १०–१० प्रतिशत र मटिहानी नगरपालिकामा सबैभन्दा कम ८ प्रतिशत तथा मनरा शिसवा नगरपालिकामा ५ प्रतिशत क्षेत्रमा मात्रै धान रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रको विवरणमा उल्लेख छ ।

कृषि ज्ञान केन्द्र महोत्तरीका निमित्त प्रमुख देवानन्द राय यादवले यस वर्ष मनसुन ढिलो सक्रिय भएका कारण रोपाइँ प्रभावित भएको बताए ।

उनका अनुसार पर्याप्त वर्षा नहुँदा अधिकांश किसानले बीउ उम्रिसके पनि खेतमा पानी नहुँदा रोप्न नसकेको अवस्था छ ।

उनले भने, ‘अहिलेसम्म जिल्लामा करिब एक चौथाइ क्षेत्रमा मात्रै धान रोपाइँ भएको छ । अब लगातार वर्षा भएमा किसानले छोटो समयमै बाँकी क्षेत्रमा पनि रोपाइँ सम्पन्न गर्न सक्ने अवस्था छ । तर, वर्षा अझै ढिलो भए उत्पादनमा समेत असर पर्ने जोखिम बढ्छ ।’

रायका अनुसार सिँचाइ सुविधा पुगेका क्षेत्रका किसानले मोटर तथा बोरिङमार्फत पानी तानेर रोपाइँ गरिरहेका भए पनि अधिकांश खेती वर्षामा निर्भर रहेकाले प्राकृतिक वर्षाको विकल्प सहज छैन ।

कृषि विज्ञहरूका अनुसार असार महिनाभित्र धान रोपाइँ सम्पन्न हुन नसके उत्पादनमा प्रत्यक्ष असर पर्ने सम्भावना रहन्छ । ढिलो रोपिएको धानको वृद्धि अवधि छोटिने, रोग कीराको प्रकोप बढ्ने तथा उत्पादन घट्ने जोखिम रहने उनीहरूको भनाइ छ ।

महोत्तरीमा धान प्रमुख खाद्यान्न बालीका रूपमा उत्पादन हुँदै आएको छ । जिल्लाको ठूलो जनसंख्या कृषि पेशामा आश्रित रहेकाले धान उत्पादनमा आउने गिरावटले किसानको आम्दानीसँगै खाद्य सुरक्षामा समेत प्रभाव पार्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।

कृषि ज्ञान केन्द्रले किसानलाई मौसमको अवस्थाअनुसार रोपाइँलाई तीव्रता दिन, उपलब्ध सिँचाइ स्रोतको अधिकतम उपयोग गर्न तथा आवश्यक कृषि प्राविधिक परामर्श लिन आग्रह गरेको छ ।

कार्यालयले आगामी केही दिनमा पर्याप्त वर्षा भए जिल्लामा रोपाइँको दर उल्लेखनीय रूपमा बढ्ने विश्वास पनि गरेको छ ।