सर्लाही, २८ असार । महोत्तरीस्थित जलेश्वर कारागारबाट फरार भएका डाका मुद्दाका एक कैदीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–२ पुनर्वास टोल निवासी ३८ वर्षीय विजेन्द्र कुमार पासवान रहेका छन् ।

उनी गत भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जलेश्वर कारागारबाट फरार भएका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार इलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा लालबन्दी नगरपालिका–२ को जुटपानी–पुनर्वास भित्री सडक खण्डबाट पासवानलाई पक्राउ गरेको हो ।

डाका मुद्दामा दोषी ठहर भई जलेश्वर कारागारमा कैद भुक्तान गरिरहेका पासवान आन्दोलनको अवसर पारेर कारागारबाट फरार भएका थिए । फरार भएपछि उनी लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन हाल इलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको जानकारी दिए ।

प्रहरीले फरार अभियुक्त तथा कैदीहरूको खोजी अभियानलाई निरन्तरता दिँदै आएको जनाएको छ ।