-श्याम कुमार ठाकुर
सिरहा, २८ असार ।
सिरहाको गोलबजार नगरपालिका–७ चोहर्वास्थित पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन् ।

प्रहरीका अनुसार आइतबार दिउँसो करिब २ः३० बजे घरबाट खेल्न निस्किएका तीनै जना बालबालिका पशु हाटबजार परिसरभित्र पुगेका थिए ।

वर्षाको पानी जमेर बनेको गहिरो खाल्डोमा नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पुर्‍याए पनि चिकित्सकले तीनै जनालाई मृत घोषणा गरेका थिए ।

अवास शेखको स्थायी घर रौतहट जिल्लामा भए पनि उनी करिब तीन दशकदेखि गोलबजार–७ मा परिवारसहित बस्दै आएका छन् ।

कवाडी सामग्री संकलन गरेर जीविकोपार्जन गर्दै आएका उनको पाँच सन्तानमध्ये तीन जनाको एकै घटनामा मृत्यु भएपछि परिवार शोकमा डुबेको छ ।

स्थानीयका अनुसार उक्त खाल्डो पशुहरूलाई पानी खुवाउने उद्देश्यले निर्माण गरिएको थियो ।

वर्षायाममा पानी भरिएर गहिरो बनेपछि त्यहाँ दुर्घटनाको जोखिम बढेको उनीहरूको भनाइ छ ।

घटनापछि स्थानीयले यस्ता जोखिमयुक्त स्थानको उचित व्यवस्थापन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।